काठमाडौँ — आजबाट दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । फागू पूर्णिमाको अवसर पारेर फिल्म ‘आउट ल : दफा २१९’ र ‘अञ्जिला’ प्रदर्शनमा आएका हुन् ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको फिल्म‘आउट ल : दफा २१९’ मा अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका छ ।
त्यसैगरी शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।
फिल्म ‘अन्जिला’ फुटबर अञ्जिलाको तुम्बापोको बायोपिक हो । फिल्ममा अञ्जिलाकै मुख्य भूमिका छ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
शुक्रबारबाट भने दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ प्रदर्शन हुनेछ । यो फिल्म मधेश आन्दोलनको विषयवस्तुमाथि आधारित छ ।
अभिनेता दयाहाङ राई र विजय बराल ‘अञ्जिला’ र ‘राजागंज’ दुवै फिल्ममा देखिएका छन् । ‘राजागंज’मा आशा मग्राती र निकिता चन्दकलगायतको मुख्य भूमिका छ ।
