एकैपटक तीन कथा लेख्दैछन् कबिर खान

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Kabir Khan is writing three stories at once

काठमाडौँ — बलिउड निर्देशक कबिर खान अहिले तीन नयाँ कथामा काम गर्दै छन् । कथाहरू के विषयमा लेखिएको हो, यसबारे खुलाइएको छैन । धेरैको चासोचाहिँ फिल्ममा उनले कसलाई लिनेछन् भन्नेमा छ ।

बलिउड फिल्म वृत्तमा अहिले केही अनुमान पनि भइरहेका छन् । ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’ जस्ता फिल्म निर्देशन गरिसकेका उनले अब बनाउने फिल्म कस्तो हुनेछ ।

उनको फिल्म प्रतीक्षा गरिरहने दर्शकहरूलाई चासो छ । अहिलेसम्म कुनै कलाकार फाइनल भइसकेको औपचारिक जानकारी त आएको छैन । बलिउड सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘म तीन फरक प्रकारका कथामा काम गरिरहेको छु । अहिले लेखनको चरणमा छु ।’

बाहिरी चर्चाअनुसार उनले तीन फिल्ममा ऋतिक रोशन, सलमान खान र विक्की कौशललाई लिनेछन् । यद्यपि उनले यो निश्चित नभएको प्रस्टाए ।

‘हामी ती जनामध्ये एक न एक जनासँग काम गर्न त सक्नेछौँ । तर छनोट अरू नै गर्न नि सक्छौँ,’ उनले भने ।

केही रिपोर्टहरूमा उल्लेख भएअनुसार कबिर खान एक पोस्ट-एपोकलिप्टिक थ्रिलरका लागि ऋतिक रोशनसँग काम गर्ने सोचमा छन् ।

त्यस्तै, ऐतिहासिक ड्रामाका लागि विक्की कौशल र कमर्सियल फिल्मका लागि सलमान खानसँग काम गर्न सक्छन् । कबीरले यसअघि सलमान खानसँग काम गरिसकेका छन् । उनीहरूको ‘बजरंगी भाइजान’ले ९०० करोड भन्दा बढी कमाइ गरेको थियो ।

ऋतिक रोशन र विक्की कौशलसँग भने कबिरले पहिले काम गरेका छैनन् । उनले यसबारे निर्णय लिन केही समय लाग्ने बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully