टंक‍ ‍‍‍‍धमला अभिनित बेलायती फिल्म 'कामा' प्रदर्शनमा

फाल्गुन २७, २०८१

रासस

Tankhamla starrer British film 'Kama' at screening

काठमाडौँ — टंक धमालाले अभिनय गरेको बेलायती फिल्म ‘कामा’ बेलायत र आयरल्यान्डमा फागुन २३ गतेदेखि प्रदर्शनमा आएको छ ।

भीमसेन लामाले निर्देशन गरेको फिल्ममा उनीसँगै हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट र भारतीय अभिनेत्री पूजा गुप्ताले अभिनय गरेका छन् । नेपाली फिल्म ‘सरौतो’ मा अभिनय गरेका धमालाले अभिनय यात्रामा नयाँ अनुभव संगालेको बताए । 

'चलचित्र हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । मेरो मुख्य भूमिका रहेको चलचित्र यसरी अन्य विदेशी चलचित्रझैं प्रदर्शन हुँदा म निकै उत्साहित छु । यो क्षणलाई मैले शब्दमा व्यक्त गर्न सकेको छैन, मेरो अभिनय यात्रामा यसले इँटा थप्ने काम गरेको छ', उनले भने ।

बेलायती फिल्म ‘डेन्जरस गेम’ र भारतीय फिल्म ‘एनिमल’ मा समेत अभिनय गरेका धमालाले विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने कथालाई ‘कामा’मार्फत देखाउने प्रयास गरिएको बताए । उनले चलचित्रमा आर्मीको भूमिका निर्वाह गर्न त्यससम्बन्धी प्रशिक्षण समेत लिएको बताए । 

'मलाई अभिनय सिकाउनु हुने साइमन गिब्बनसँग केही समय पात्रको मनोविज्ञानबारे प्रशिक्षण लिएपछि शारीरिक रुपमा चुस्त देखिन मेहनत गरें । आर्मीको सोचाइ र शारीरिक हाउभाउलाई उतार्न सफल भएपछि छायांकनमा पुगेको थिएँ । नेपालीपछि भारतीय र ब्रिटिस चलचित्रमा काम गर्न पाउँदा मैले उनीहरुको कार्यशैलीलाई बुझ्ने मौका पाएँ', धमालाले भने । 

फिल्ममा उनले निर्वाह गरेको पात्रलाई युद्धबाट फर्किएर घर आइपुग्दा श्रीमतीको मृत्युको खबर थाहा हुन्छ । त्यसपछि घट्ने घटनाक्रमले ‘क्राइम र थ्रिलर’ विधाका फिल्म रुचाउने दर्शकलाई मनोरञ्जन दिने धमालाले बताए । 

सन् २०१८ देखि मोडलिङमा सक्रिय धमालाले फिल्म, विज्ञापन र म्युजिक भिडिओमा काम गरेका छन् । विदेशी फिल्ममा काम गर्दा थप अनुभवी बनाएको बताउँदै अभिनेता धमालाले आगामी दिनमा संख्यात्मकभन्दा पनि गुणात्मक फिल्ममा काम गर्ने बताए । 

रासस

Link copied successfully