‘राजागंज’को नारायणगढमा प्रिमियर शो

फाल्गुन २७, २०८१

रमेशकुमार पौडेल

Premiere show of 'Rajaganj' at Narayangadh

चितवन — निर्देशन दिपक रौनियारको फिल्म ‘राजागंज’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । त्यसअघि नै सोमबार साँझ फिल्मको नारायणगढ इन्द्रदेव सिनेमा हलमा प्रिमियर शो सम्पन्न भएको छ ।

पूर्वको विर्तामोड, इटहरी, जनकपुर, विरगञ्ज हुँदै प्रिमियर शोका लागि निर्देशक रौनियारसहित कलाकारको टोली नारायणगढ आइपुगेका हुन् । 

सिनेमाको कथामा मधेश छ । पहाडी समुदायकी महिलासँग बिहे गरेका एक जना मधेशी नेता जो प्राय: काठमाडौंमा नै बस्छन् र सांसद पनि हुन् । मधेसमा उनको छोरासँगै अर्को एकजना बालक अपहरणमा परेपछि त्यसको अनुसन्धान गर्न खटिएकी प्रहरी निरीक्षक पूजासँगै सिनेमाको कथा अगाडी बढ्छ । प्रहरी निरीक्षक पुजाको भुमिकामा रहेकी आशा मगराती सिनेमाको केन्द्रीय पात्र हुन् । 

प्रहरी उपरीक्षक (एसपी) दयाहाङ राई, प्रहरी निरीक्षक बनेकी नीकिता चाण्डक र प्रहरीकै भूमिकामा रहेका विजय बरालले अपहरित बालकलाई खोज्ने क्रममा के कस्तो भूमिका खेल्छन् ? उनीहरुको कार्यशैली, मनोभावना र सम्बन्धसँगै मधेसका विभिन्न पाटाहरु खुल्दै जान्छ । मधेश आन्दोलन चल्दै गर्दा भएको नेतापुत्रको अपहरणले मधेसको राजनैतिक, शैक्षिक र सामाजिक पाटोहरुलाई पस्कन्छ । कसले न्याय पायो, कसलाई अन्याय भयो ? किन यस्तो भयो ? सिनेमा सकिँदै गर्दा दर्शकको मस्तिष्कमा यी प्रश्न घुम्न थाल्छन् । 

निर्देशक रौनियार, कलाकार आशा मगराती र विजय बराल लगायतले सिनेमाको प्रदर्शनपछि दर्शकसँग वार्ता पनि गरे । प्रिमियर शोमा पुगेका चितवनका पुराना कलाकार ऋद्धिचरण श्रेष्ठ जसले थुप्रै नेपाली सिनेमामा चरित्र अभिनेताको भूमिका गरेका छन् उनले सिनेमामा मधेशको कथालाई सरल तरिकाले पस्किएको बताए । ‘म मधेश रौतहटमा हुर्केको व्यक्ति हो । त्यहाँ मैले सिनेमाको जस्तै कथा व्यथा देखेको छु,’ उनले भने । 

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा ‘पूजा सर’का नामबाट सहभागी भएर प्रशंसा बटुलेको यो फिल्म नेपालमा सार्वजनिक हुनुअघि विभिन्न सहरहरुमा प्रिमियर गरिएको हो । नारायणगढपछि काठमाडौं, नेपालगञ्ज र पोखरामा पनि प्रिमियर शो गर्ने योजना रहेको निर्देशक रौनियारले बताए । उनका यसअघि ‘हाइवे’ र ‘सेतो सूर्य’ जस्ता फिल्म प्रदर्शनमा आइसकेका छन् । उनले परम्परागत धार र कथाबाट अलग रहेर फिल्म बनाइरहेका छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully