काठमाडौँ — टोरोन्टो, बुसानमा प्रिमियर भएको फिल्म ‘गाउँ आएको बाटो’ थाइल्यान्डको बैंककमा प्रदर्शन हुने भएको छ । चैत १४ देखि सामियान हाउस मूभीमा यो फिल्म एक महिनाका लागि प्रदर्शन हुने तय भएको निर्माता अमोद राईले जनाए ।
फिल्मको निर्माणमा जोडिएका थालल्यान्डका निर्माण कम्पनी एचएल डिस्ट्रिब्यूटरले नै प्रदर्शनमा चासो देखाएपछि यो फिल्म प्रदर्शन हुने भएको हो । थालल्यान्डपछि ‘गाउँ आएको बाटो’ इन्डोनेसिया र इटालीमा पनि प्रदर्शन हुनेछ । प्रदर्शनका लागि निर्देशक नवीन सुब्बा नेपालबाट र हङकङबाट निर्माता राई थाइल्यान्ड पुग्दैछन् ।
समीक्षात्मक रूपले रुचाइएको यो फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राईको प्रमुख अभिनय छ भने बालकलाकारका रूपमा प्रसन राई देखिएका थिए । फिल्मको ‘राई माइला’बोलको गीत निकै चर्चामा आएको थियो ।
