काठमाडौँ — आफूले रोजेको पथमा छोरा पनि हिँड्न खोज्दा कुन बावुको छाती खुसीले नफुल्ला ? बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको हकमा यस्तै छ । अमिताभले छानेको अभिनयकै पथमा छन्, अभिषेक । त्यसैले बुवा अमिताभ बेलाबखत छोराको अभिनयको चर्चा गरिबस्छन् ।
प्रदर्शनको तयारीमा रहेको 'बी ह्याप्पी'मा अभिषेक केही फरक अवतारमा देखिएका छन् । यो चरित्र कहिले कमेडी गर्छ त कहिल्यै गम्भीर स्वभावमा देखिन्छ । त्यसैले चरित्र चित्रणमा छोराको यस किसिमको अवतारलाई लिएर अमिताभले हालै अभिषेकको प्रशंसा गरेका छन् ।
'अभिषेक बुवाको गर्व हो । कति सजिलै ऊ चरित्रमा घुल्न सक्छ । बधाई हो, स्नेह,' हालै सामाजिक सञ्जाल एक्समा छोराको प्रशंसा गर्दै अमिताभले लेखेका छन् ।
यसअघि बलिउडको नातावाद बहसमा अभिषेक तानिएका थिए । राम्रा फिल्महरु गरिरहँदा पनि अभिषेक अनावश्यक तरिकाले नातावादको सिकार बनिरहन्छन् भन्ने कुनै फ्यानको ट्विटमा सहमत हुँदै अमिताभले प्रतिकारमा लेखे, 'मलाई पनि यस्तै लाग्छ । बुवा भएकै कारण मैले यसो भनिरहेको छैन ।'
अमेजन प्राइममा प्रदर्शन हुने 'बी ह्याप्पी'मा बुवा र छोरीको सम्बन्ध देखाइएको छ ।
