काठमाडौँ — फिल्म ‘कला’ र ‘द रेलवे म्यान’मा सशक्त अभिनय गरेका अभिनेता बाबिल खान के गर्दैछन् ? थोरै फिल्मबाटै लोकप्रिय बनेका बाबिलको नयाँ कामको प्रतीक्षा उनका प्रशंसकहरू गरिरहेका छन् ।
बाबिल यतिबेला नयाँ फिल्महरूको तयारीमा छन् । बाबिल अब भारतीय-अमेरिकी फिल्म ‘याक्षी’मा काम गर्दैछन् । यो सर्ट फिल्ममा बाबिलसँग मलयालम अभिनेत्री अन्ना बेन पनि देखिनेछिन् । उनले ‘कुंबलङ्गी नाइट्स’ र ‘हेलेन’ जस्ता फिल्महरूमा जबर्जस्त अभिनय गरेकी थिइन् ।
फिल्म ‘याक्षी’मा करण सुनिलको लेखन र निर्देशन छ । फिल्ममा भारतीय लोककथा र समकालीन कथानकको मिश्रण हुनेछ । यो फिल्ममा बाबिलको मुख्य भूमिका रहनेछ ।
यो प्रोजेक्टले बाबिल खानको भूमिका र आगामी कामप्रति उत्सुकता बढाएको छ । बाबिल हाल साई राजेशद्वारा निर्देशित एक प्रेम कथामा पनि काम गर्ने तयारीमा छन् ।
सन् १९९८मा जन्मेका बाबिलले करिअरको सुरुवात सन् २००२ फिल्म ְ‘करिब करिब सिंगल’मा क्यामेरा असिस्टेनबाट गरे । उनी अभिनेता इरफान खानको छोरासमेत हुन् । इरफानको अभिनय कौशललाई लिएर मृत्युपछि पनि चर्चा भइरहने गर्छ ।
कतिपयले बाबिललाई लिएर इरफानको धित मर्ने पनि बताउँछन् । मेकरहरू पनि बाबिलको अभिनय कौशलबाट प्रभावित छन् ।
