काठमाडौँ — अभिनेता प्रभासको नयाँ फिल्मको प्रतीक्षा उनका प्रशंसकहरूमा व्यग्र छ । अब उनीहरूले धेरै समय कुर्नुपर्नेछैन । उनको मुख्य भूमिका रहेको फिल्म ‘द राजा साब’ प्रदर्शन नजिक छ ।
यो मात्र होइन, उनका अरु फिल्म पनि पाइपलाइनमा छन् ।
उनी हनु राघवपुडीको ‘फौजी’ फिल्ममा काम गरिरहेका छन् । यो फिल्ममा केही समयपहिले अनुपम खेरको पनि प्रवेश भएको थियो । यो फिल्मको निर्माण बजेट नै ४ सय करोड छ ।
प्रभासको केन्द्रीय भूमिका रहेको यो फिल्ममा सनी देओलको पनि भूमिका रहेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमका रिपोर्टअनुसार सनी देओलको भूमिका यो फिल्ममा सशक्त हुनेछ ।
‘फौजी’ युद्धमा आधारित फिल्म रहेको बताइएको छ । ऐतिहासिक ड्रामा फिल्ममा प्रभास ब्रिटिस आर्मी अफिसरको भूमिकामा हुनेछन् । आलिया भट्ट प्रिन्सेसको रूपमा देखिनेछिन्।
सनी देओलको भूमिकाबारे भने थप उल्लेख गरिएको छैन । फिल्ममा अनुपम खेर, सनी देओल, आलीया भट्टसँगै जयप्रदा र मिथुन चक्रवर्ती पनि महत्वपूर्ण भूमिकामा देखिने बताइएको छ ।
प्रभासले यसपछि सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’मा काम गर्नेछन् । त्यसपछि ‘कल्की २’, ‘सलार २’, प्रशांत बर्माको ‘ब्रह्मराक्षस’ लगायत अन्य फिल्म पनि पाइपलाइनमा छन् ।
सनी देओल अहिले साउथ निर्देशक गोपीचन्द मालिनेनीसँग पनि काम गरिरहेका छन् ।
