काठमाडौँ — दशकौंसम्म ओस्कर उर्फ अकाडेमी अवार्ड मुख्य रूपमा हलिउडका चलचित्रहरूले नै कब्जा गरे। तर, स्थिति अहिले फेरिएको देखिन्छ । सन् २०२० मा साउथ कोरियाली फिल्म ‘पारासाइट’ ले ओस्करमा उत्कृष्ट सिनेमाको अवार्ड हात पार्यो ।
ओस्करको इतिहासमा पारासाइटको यो विजय नै गैर-हलिउड सिनेमाको पहिलो विजय ठहरियो। तर, गैर-हलिउड सिनेमाले ओस्करमा यो स्थान केही वर्षमा बनाएको भने होइन। बरु, आफ्नो स्थापनाको ९ दशक र अरु २ वर्षपछि मात्र एउटा गैर-हलिउड सिनेमालाई ओस्करले उत्कृष्ट सिनेमा घोषित गरेको हो।
बोङ जून-होको ‘पारासाइट’ले बाटो खोलिदिएको पाँच वर्षपछि यस वर्ष पुनः ओस्करको उत्कृष्ट सिनेमामा गैर-हलिउड सिनेमाले हस्तक्षेप गरेको छ। सन् २०२५ को अर्थात् ९७औं ओस्कर अवार्डमा आइतबार, २ मार्चको रात उत्कृष्ट सिनेमाको उपाधि उचाल्दै सिन बेकरको ‘अनोरा’ ओस्कर इतिहासमा हलिउडले गाडेको आधिपत्यको किल्ला भत्काउने दोस्रो गैर-हलिउड फिल्म बन्न सफल भएको हो।
यसअघि, पारासाइट एउटालाई ‘साइड’मा राखेर हेर्ने हो भने हलिउडइतरका ग्लोबल सिनेमालाई ‘उत्कृष्ट अन्तरराष्ट्रिय फिचर फिल्म’ र अन्य उपाधि मात्र मिलिरहेको थियो। जसले एउटा प्रश्न यस्तो जन्माइरहेको थियो- ओस्करले कतै ग्लोबल सिनेमालाई आफ्नो प्रमुख प्रतिस्पर्धामा समेट्न नखोजेको त होइन? पारासाइटलाई लिएरै हेर्दा पनि एउटा प्रश्न यस्तो पनि उठिरहेकै थियो- ‘‘पारासाइट’ पछि अर्को गैर-हलिउड सिनेमाले ओस्करको प्रमुख प्रतिस्पर्धामा बाजी मार्न नसक्ने हो कि?’ तर, पारासाइटको एक्लो उपस्थितिलाई पाँच वर्षसम्म अन्य कुनै गैर-हलिउड फिल्मले नपछ्याउँदा ‘पारासाइट’ ओस्कर इतिहासमा कतै एउटा अपवाद बनेर एक्लै रहने त होइन? कतै फेरि पनि ओस्करलाई हलिउड मात्रैले कब्जा गर्ने त होइन भन्ने आशंका छिटपुट देखिँदै आएका थिए।
त्यसो त ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा गैर-हलिउड सिनेमाले विजय हासिल नगरेका होइनन्। तर, त्यतिले ‘हलिउडसँग गैर-हलिउडले पनि प्रतिस्पर्धा गर्नसक्छ है’ भन्ने भाष्य निर्माण हुन सक्ने थिएन। ‘पारासाइट’ले दिएको सन्देशलाई सही पुष्टि गर्न पनि अर्को एउटा गैर-हलिउड सिनेमाले उत्कृष्ट सिनेमाको प्रमुख प्रतिस्पर्धामा विजय हासिल गर्न जरुरी नै थियो। र पाँच वर्षको अन्तरालपछि पारासाइटलाई पछ्याउँदै ‘अनोरा’ पनि विजेताको सूचीमा थपिनुले बल्ल त्यो भाष्य स्थापित हुन सकेको छ। ‘अनोरा’को यो विजयले ओस्करमा हलिउड सिनेमाको मात्रै आधिपत्य छ भन्ने भाष्यलाई समेत चिरिदिएको छ। साथै, यो जितका कारण ‘पारासाइट’ले पनि अपवाद रहनु परेन। ग्लोबल सिनेमाको लागि यो पक्कै उत्सव मनाउन लायक विषय हो।
त्यसो त, अनोराले यस वर्षको ओस्करमा अर्को एउटा पनि रोचक इतिहास रचेको छ। यसका निर्देशक, सम्पादक एवं लेखक सिन बेकरलाई यही फिल्मले एकै रातमा एउटै फिल्ममा चार विधामा ओस्कर प्राप्त गर्ने पहिलो फिल्ममेकर समेत बनाएको छ। यसअघि, २६औं ओस्कर अवार्डमा वाल्ट डिज्नीले पनि एकै रातमा विभिन्न चार विधामा ओस्कर जितेका हुन् त डिज्नीले भने एउटै फिल्मका लागि नभएर विभिन्न फिल्मका लागि ती ओस्कर जितेका थिए। यसपटक भने सिन बेकरले एउटै फिल्म, ‘अनोरा’का लागि चार-चारवटा ओस्कर एकै रातमा थापेर नयाँ इतिहास रचेका हुन्। बेकरलाई उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक, उत्कृष्ट मौलिक पटकथा र उत्कृष्ट फिल्म सम्पादन गरी चार विधामा ओस्कर उपाधि उनको एउटै फिल्म अनोराले दिलायो!
साच्चै, सिन बेकरको ‘अनोरा’को मात्र कुरा गर्दैगर्दा यस वर्षको उत्कृष्ट अन्तरराष्ट्रिय फिचर जित्ने वाल्टर सलेसको ‘आइ’म स्टिल हियर’लाई पनि बिर्सन हुँदैन।
खैर, ओस्करमा ग्लोबल सिनेमाले गाडेको यो विजयी किल्लामा जग खन्ने काम भने पारासाइटले नै गरेको हो। ओस्कर अवार्डको सुरुवात भएको ९१ वर्षपछि पारासाइटले त्यो जग खन्यो। अहो! कति लामो यात्रा? तर, जग खनिसकेपछि पिलर उठाउन अर्को ९० वर्ष पर्खन पर्ने त रहेनछ है? त्यसको पाँच वर्षपछि ‘अनोरा’ले मानौँ आज पिलर उठाएको छ। सकारात्मक भएर सोच्ने हो भने अब त त्यति पनि पर्खन नपर्ला कि? अनि, अब ग्लोबल सिनेमाको कुरा गर्दैगर्दा नेपालमा पनि नपुगिरहन सकिँदैन। त्यसो त अहिलेको अवस्थामा कुनै पनि अन्तरराष्ट्रिय फिल्म अवार्डका लागि मनोनयनमा पर्नु मात्र पनि नेपालका लागि ठूलो कुरा हो। उत्कृष्ट अन्तरराष्ट्रियतर्फ नै जित्नु अर्को अझै ठूलो कुरा। यद्यपि, ‘अनोरा’को यो जितले नेपाली सिनेमाको तलाउमा त्योभन्दा पनि अझै ठूलो अर्को जितका लागि प्रोत्साहनको तरङ्ग त कसो छेडेन होला?
जे होस्, यो वर्षको ओस्कर परिणामले सिनेमा जगतमा एउटा सुनौलो युग सुरु भएको प्रमाणित गरेको छ। ‘पारासाइट’ले पाँच वर्षअघि खनेको सुनौलो बाटोलाई (इन्डिपेन्डेन्ट फिल्म) ‘अनोरा’ले कसौटीमा घोटेर सुनकै बाटो भएको प्रमाणित गरिदिएको छ। देखाइदिएको छ- ग्लोबल सिनेमाले हलिउड सिनेमासँग निर्धक्क लड्न सक्ने क्षमता राख्छन् र उस्तै परे पछार्न पनि सक्छन्!
