‘लाज शरणम्’मा महेशले सन्देश चरित्रका लागि गरेको यात्रा भने झन् कठिन छ, उनले २० किलो त तौल नै घटाएका थिए ।
काठमाडौँ — ठाकुरप्रसाद त्रिपाठी (६३) ले पुराना फाइल निकालेर पल्टाए । ती फाइलभित्र दुई दशकदेखि बाँचिरहेका पुराना पत्रिकाका अक्षरहरू थिए । धमिला अक्षरहरूलाई सुमसुम्याउँदै मतर्फ फर्किएर भने, ‘लु हेर्नु बाबु। त्यतिबेला जेठाले बनाएको रोबोट । मैले जतनले राखिरहेको छु ।’
गत असारको पहिलो सातातिर म अभिनेता महेश त्रिपाठीको कास्कीकोट (कास्की) स्थित घर पुगेको थिएँ । घरबाहिर जोडले पानी बर्सिरहेको थियो ।
ठाकुर छोरामाथि लेखिएका थप समाचारका पन्ना देखाउँदै भनिरहेका थिए, ‘उतिबेला अन्तर्राष्ट्रिय पत्रिकाले पनि कभर गरेको थियो । सबैले वैज्ञानिक बन्छ भन्थे ।’
स्कुले जीवनपछि पनि इनोभेसनको दुनियाँमा भिजिरहेका महेश अचानक मोडिए । त्यो मोड अभिनयको थियो ।
सिनेमाको बाटो रोजेपछि उनका जीवनमा थुप्रै घुम्ति आए । तर अभिनयको ‘स्टेरिङ’ उनले कहिल्यै छाडेनन् ।
ठाकुरले फाइलका पछिल्ला पन्नाहरू पल्टाए । फिल्मसँग जोडिएका समाचार देखाउँदै भने, ‘हेर्नु त । वैज्ञानिक बन्छ भनेको छोरा आखिर कलाकार बन्यो । हामीलाई उसले हिँडेको बाटो असाध्यै मन परेको छ ।’
झरी रोकिनै आँटेको थियो । तर सामुन्नेमा बसेकी आमा यममायाको आँसु भने पत्रिका हेर्दै गर्दा रोकिएनन् । आमाले घडी हेरिन् । अनि महेशलाई भनिन्, ’२४ घण्टा पुग्न लागिसक्यो । खाना तयार भइसक्यो । अब त खान जाऊ ।’
महेशलाई भोक थिएन । थियो त केवल अभिनयकै भोक।
त्यतिबेला महेश ‘लाज शरणम्’का लागि सन्देश भएर बाँच्न सुरु गरिसकेका थिए । ‘२० केजी तौल घटाउनुपर्नेछ । डाक्टरसँग सल्लाह गरिरहेको छु । २४ घण्टामा एक पटक मात्र खान्छु,’ काठमाडौं फर्कने क्रममा महेशले भनेका थिए, ‘हामीलाई भात नभई हुन्न । तर मैले खान मिल्दैन ।’
अभिनयका विद्यार्थी । फिल्मका विद्यार्थीलाई अभिनय पढाउने शिक्षक । उनी गर्नकै लागि अभिनय गर्ने पक्षमा थिएनन् । उनी पात्रको जीवनसँग जोडिन चाहन्थे ।
महेशले कार्बोहाइड्रेड खान बन्द गरेका थिए । सागको तरकारी, दुई पिस मुला, २ पिस काँक्रा, प्रोटिन , बेलाबेलामा कफी र पानी । ७ महिनासम्म उनको यो तालिका नियमित थियो । आमा भन्थिन्, ‘आफ्नै शरीरलाई दु:ख दिएर किन यस्तो गरेको ?’
परिवार सम्झाउँथे, ‘उसको सपनाका लागि परिश्रम गर्नैपर्छ ।’
फिल्म ‘लाज शरणम्’का लागि निर्देशक कुमार कट्टेललाई सिंगो कर्णालीको कथा बोक्ने पात्र चाहिएको थियो । धेरैको सिफारिसमा साझा नाम आयो, ‘यस्तो त महेशले गर्न सक्छ ।’ त्यसपछि उनले महेशलाई भेटे । आफ्नो स्पष्ट कुरा राखे, ‘कथा बोक्ने पात्र हो यो । यसमा स्टार हैन बलियो काँध चाहिएको छ ।’
महेश काँध थाप्न तयार भए । त्यस दिनदेखि नै आफूलाई मैदानमा उभ्याए । ‘भौगोलिक विकटता भएको ठाउँ । जहाँ खानाको अभाव छ । कुपोषणको समस्या छ । यो चरित्रले त फिजिकल ट्रान्सफर्मेसन माग गर्छ । तौल घटाउनुपर्छ,’ महेश निष्कर्षमा पुगे ।
त्यसपछि कुनै पनि दिन महेशले आफूलाई अनुशासनको घेरा नाघ्न दिएनन् ।
प्रतिफल अहिले देखिएको छ । ‘लाज शरणम्’ हेरेर फर्कने दर्शकहरू आँखा भिजाउँदै सन्देश खोजिरहेका छन् । ‘लाज शरणम्’मात्र हैन, ‘फेरि रेशम फिलिलि’को समलिंगी पात्र पुष्पाप्रति पनि उनीहरू प्रेम दर्शाइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू लेखिरहेका छन्, ‘उनी ब्रिलियन्ट एक्टर हुन् ।’
निर्देशकहरू कुमार र निरोज महर्जन पनि थप्छन्, ‘हो महेश ब्रिलियन्ट एक्टर हुन् ।’
०००
फिल्म ‘हल्कारा’ हेरेर फर्किँदै गर्दा ‘फेरि रेशम फिलिलि’का निर्देशक निरोजलाई लागेको थियो, ‘एकदिन म यी एक्टरसँग काम गर्नेछु ।’ उसो त ‘हल्कारा’बाट अमेरिकाको 'ह्युस्टन फिल्म फेस्टिभल'मा उत्कृष्ट अभिनेताको अवार्ड समेत उचालेका थिए महेशले ।
निरोजलाई ‘फेरि रेशम फिलिलि’ बनाउँदा समलिंगी पात्र निर्वाह गर्ने कलाकार चाहिएको थियो । फिल्मको एकदमै सेन्सेटिभ र महत्वपूर्ण क्यारेक्टर थियो त्यो । निक्कै घोत्लिएपछि आँखामा झुल्किए महेश । ‘जो कोहीले यो गर्न सक्ने नै थिएन । उहाँलाई सम्झेपछि भेटेँ । त्यतिबेला उहाँ एकदम सिरियस एक्टर हुनुहुन्छ भन्ने थाहा पाएँ ,’ उनी भन्छन् ।
महेशलाई त्यही चुनौती थियो, ‘यो संवेदनशील चरित्रलाई न्याय गरिनँ भने न मेरो कलाकारितालाई न्याय हुन्छ । न लैंगिक अल्पसंख्यक समुदायलाई ।’ उनले फिल्म कलेज पढ्दा यो विषयमा खोज अनुसन्धान गरेका थिए । अब्जर्भेसन गरेका थिए । ‘मैले इन्टरनल साइकोलोजीमा काम गरेँ । त्यो पात्रको छनोट र उद्देश्यमा गम्भीर भएर सोचेँ । फिल्म आइसकेपछि अहिले त्यही समुदायबाट एप्रिसियसन मिलिरहेको छ,’ उनी खुसी साट्छन् ।
०००
‘लाज शरणम्’मा महेशले सन्देश चरित्रका लागि गरेको यात्रा भने झन् कठिन छ । उनले चरित्रकै लागि २० केजी तौल घटाएका थिए । ‘थाहै नपाई सालाकसुलुक भएछु । देखिरहेका मान्छेले पनि नचिन्ने भइसकेछु,’ महेश सुनाउँछन् ।
महेश सुटिङ हुनुभन्दा अगाडि नै डोल्पा गए । त्यहाँको भाषा टिपे । संस्कृति टिपे । लबज टिपे । जीवनशैली टिपे । अनि त्यसमै समाहित भए । ‘हामी नेपाली भाषामा लेखेर कुनै भूगोलमा जाँदा ट्रान्सलेट गर्छौँ । अथेन्टिक तरिकाले ट्रान्सलेट हुँदैन । त्यो नहोस् भन्ने थियो । मैले रिसर्च गरेर भोगेको चिज हाल्नुपर्छ भन्ने भयो,’ महेश सुनाउँछन् ।
डोल्पाको गाउँमा उनी खनजोत गर्थे । तरकारी टिप्थे । त्यहीँका जनजीवनमा हातेमालो गर्थे । जनजीवनकै शब्दमा गाली गर्थे । गाली खान्थे । ‘मेरो लागि त्यो दुनियाँ अलग्गै बनेको थियो,’ उनी भन्छन् ।
एकदिन काठमाडौँबाट निर्देशकसहितको टोली डोल्पा पुगे । कलाकार आउँदैछन् भनेर गाउँका मानिसहरू स्वागत गर्न तम्तयार भए । जब उनीहरू पुगे, त्यहाँ गाउँका मान्छेहरू सम्मान गर्न आए । कुमारलाई एकजना दुब्लो मानिसले झ्याम्म अँगालो हाले । एकछिन अलमलिए । बल्ल थाहा पाए, ‘उनी त महेश रहेछन् ।’
कुमारको बोली अवरुद्ध भयो । आँखा भरियो । ‘मैले महेश हैन । सन्देश भेट्टाएँ,' कुमारले महेशलाई भने, 'अब तपाईंले जे गर्नुहुन्छ खिचेमात्र पुग्छ ।’
हाई अल्टिट्युडमा सुटिङ चलिरहेको थियो । चौबिस घण्टामा एकपल्ट मात्र खाने महेशले नखाएकै पच्चिस घण्टा नाघिसकेको थियो । उनी सुटिङिस्थलबाट पाँच सय मिटर पर चर्पीका लागि हिँडे । अचानक श्वास फेर्न गाह्रो भयो । छेउमा भीर थियो । उनी भित्तामा अडेसिए । गाउँका एकजना नजिकै फोनको टावर टिप्छ कि भनेर पुगेका थिए । महेशले बोलाउन खोजे । आवाज आएन । उनी ढले । ‘पछि उहाँले देख्नुएछ । सबैलाई बोलाउनुभएछ । उठाएर मलाई लिएर जानुभएछ,’ महेश सुनाउँछन्, ‘त्यतिन्जेल शरीर एकदम चिसो भइसकेको रहेछ । तल झारेपछि मात्र विस्तारै याद आयो । यहीँ प्राण जान्छ जस्तो लाग्यो ।’
महेशकी आमा सोधिरहन्थिन्, ‘खाना अब त खाए हुन्थ्यो ?’ आमाको वाणी कानमा गुञ्जिरह्यो । महेशको रसिलो आँखा बगिरह्यो । ‘त्यतिबेला फिल गरेँ । शरीर र मभित्रको ड्रिम फरक चिज रहेछ । मैले मेरो ड्रिमको लागि शरीरलाई धेरै दु:खै दिएछु,’ उनी सम्झिन्छन् ।
फिल्ममा सन्देशले कर्णालीको सुस्केरा बोकेको छ । अभाव बोकेको छ । सिंगो कर्णालीको खोसिएको हांसो सन्देशको चाउरिएको अनुहारमा देखिन्छ । अभावले भित्र गाडिएका उसका आँखाभित्र राज्यप्रतिको आक्रोश भेटिन्छ । फिल्मभरि कतै महेश भेटिन्नन् केवल सन्देश भेटिन्छ ।
०००
‘लाज शरणम्’ले प्रचारप्रसारमा महेशको अनुहार लुकाउन खोज्यो । अहिले फिल्ममा दर्शकहरूले कर्णालीको अंशलाई रुचाइरहेपछि कुमारलाई पछुतो छ, ‘सुरुदेखि नै उहाँलाई अघि सार्नुपर्ने रहेछ ।’
उनीहरूले सीताराम कट्टेलको फरक अवतारलाई प्रचारप्रसारमा अग्रस्थानमा राखे । महेशलाई लुकाउनुको कारण सुनाउँछन् कुमार, ‘कर्णालीको कथा सिनेमाको सरप्राइज्ड थियो । रहस्य खुल्छ कि भनेर सोच्यौँ ।’
कुमारलाई यो प्रोजेक्ट हलसम्म लैजाँदा लागेको छ, ‘महेश त अभिनयका हिरा हुन् ।’
‘बेहोस भएर ढल्दा पनि काम नगरौँ भन्नुभएन । सास फेर्न नसक्दा पनि नगरौँ भन्नुभएन । कस्तो कमालको एक्टर,’ कुमार भन्छन् ।
महेशले यसअघि जति फिल्म गरे । हेर्नेहरूले उनको चरित्रबारे खुलेरै प्रशंसा गरे । चाहे त्यो ‘हल्कारा’, होस् वा ‘चपली हाइट ३’ वा ‘प्रसाद २’। उनले आफ्नो तर्फबाट सधैं कठोर मेहनत गरिरहे ।
तर पनि उनलाई मनमा बिझाइरहने कुरा छ, ‘ मलाई आउटसाइडर ठानियो कि ?’
‘जहिल्यै चलेको अनुहार लिएर फिल्मलाई व्यापारसँग मात्र हेरियो । न कि कलासँग । अझै पनि इन्डस्ट्रीभित्रकै मान्छे हुँ भनेर संघर्ष गरिरहनुपरेको छ,’ महेश गुनासो गर्छन् । यद्यपि उनीभित्र अभिनयको भोक भने झन्झन् बढिरहेकै छ । उनका काम हेरेर कलाप्रेमीहरू तृप्त बनिरहेका छन् । र यो क्रम सुस्तरी बढ्दो छ ।
स्कुले जीवनमा महेश ‘इनोभेटर’ थिए । रोबोर्ट बनाउँथे, मेसिनहरू बनाउँथे । यता अभिनय करिअरमा पनि उनको खोजी सिर्जनाको आविष्कारतर्फे छ ।
पत्रिका हेर्दै छोराको दुई घुम्तीलाई तुलना गरिरहेका बा ठाकुरको पनि यही मत छ, ‘हिजो रोबोटहरू बनाउँथ्यो । अहिले चरित्रहरू । मेरो लागि छोरा वैज्ञानिकै सरह हो ।’
