रौतहट — रौतहटको चन्द्रपुर–४ मा सञ्चालन भइरहेको चन्द्रपुर महोत्सवमा अरु दिनभन्दा बिहीबार राति भिन्न खाले माहोल बन्यो । गायिका एलिना चौहान आउने भएपछि किशोरकिशोरी र युवा महोत्सव पुगेका थिए । टाढाका दर्शकहरु कार्यक्रम सुरु हुन अगावै अगाडिको दीर्घा कब्जा गर्न बसिसकेका थिए ।
राति अबेर सुरु महोत्सवमा सुरुमा हास्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) र सुरेन्द्र केसी (मुलाको साग) ले 'तराई हिमाल जोड्ने मेरो देश' प्रहसन गरेर माहोललाई निकै रोमाञ्चक बनाए । दर्शकहरु पेट मिचिमिचि हाँस्न थाले ।
रात छिप्पिँदै जाँदा एलिना मञ्चमा देखा परिन् । सुरुमा उनले एकएक लाइन गीत सुनाइन्- ‘तिमीले धोखा दियौ भने मा कसम कट्टा हान्दिन्छु, मैले कट्टा हान्दिन्छु’, ‘तिम्रो मायाले बाँधेर राख, मेरो सिरानी होस् तिम्रो काख’ ।
यति गाउँदै गर्दा दर्शकको हुटिङले महोत्सवको माहोल नै संगीतमय बनाइदियो । मञ्चको चारैतिर ठूलो संख्यामा दर्शक थिए । उनले दर्शकलाई हात हल्लाएर साथ दिन अनुरोध गरे । उनको प्रस्तुति मोबाइलमा कैद गर्न धेरै दर्शक नजिक पुग्थे ।
सुरुवात मै ‘धोकेबाज हौ तिमी’ गाउँदै एलिनाले दर्शकलाई मन्त्रमुग्ध बनाइन् । गीत सकेलगत्तै उनले ‘तिम्रो मायाले बाँधेर राख’ गाएर दर्शकलाई नचाइन् । मञ्च नजिक झुम्मिएका किशोरकिशोरी निकै उत्साह देखिए । दर्शकदीर्घाबाट उनलाई हात हल्लाएर साथ दिने धेरै थिए ।
त्यसैबीच उनले ‘कट्टा हान्दिन्छु' गाएर माहोललाई अझ गरम बनाइन् । अन्य दिनको तुलनामा दर्शकको भीड बढी देखियो । रात ढल्दै गए पनि मानिसहरु उनको गीतमा नाचिरहे ।
कति रोएँ म तिम्रो लागि, बेलाबेला चुप्पा गर, मिनरल वाटर भन्दै पिउँछु क्वाटर जस्ता गीत पस्केर एलिनाले राति अबेरसम्म दर्शकलाई नचाइन् । दर्शकको उत्साहले आफूलाई हौसला मिलेको एलिनाले सुनाइन् । उनी रौतहटमा पहिलोपटक प्रस्तुति गर्न आएकी थिइन् ।
चन्द्रपुर उद्योग वाणिज्य संघ, चन्द्रनिगाहपुर सिटी जेसिस र लायन्स क्लब अफ चन्द्रनिगाहपुरले महोत्सव आयोजना गरेको हो । फागुन ५ देखि सुरु महोत्सव शनिबार समापन हुँदै छ ।
महोत्सवमा गायकहरु दुर्गेश थापा, श्रीकृष्ण लुइँटेल, कृष्ण काफ्ले, मिस्टर डी र्यापर, ज्योति मगर, रचना रिमाल, एन्जिला रेग्मी, प्रीति आलेले प्रस्तुति दिएका थिए ।
