काठमाडौँ — सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ आगामी दसैंको फूलपातीमा रिलिज हुने भएको छ । निर्माण टिमले औपचारिक घोषणा गर्दै अभिनेता समीर भट्टको पोस्टर पनि सार्वजनिक गरेको छ ।
समीर डेब्यु फिल्म ‘१२ गाउँ’ले व्यावसायिक सफलता हासिल गरेसँगै उनी लोकप्रिय बनेका हुन् । पोस्टरमा उनी एक्सन अवतारमा छन् ।
यो एक्सनप्रधान फिल्म हो । निर्देशक सेन आफूले अहिलेसम्म सबैभन्दा धेरै मेहनत गरेको फिल्म ‘बलिदान’ भएको बताउँछन् । ‘जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको छु,’ निर्देशक सेन भन्छन् ।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ ।
फिल्मको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माणसमेत गरिएको थियो । फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
