सुर्खेत — ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २५ देखि सुर्खेतमा हुने भएको छ ।
रेड चेरी मिडियाले आयोजना गर्ने यस महोत्सवमा ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ को नारालाई अघि सार्दै नेपाली चलचित्रको प्रवर्धन र विकाससँगै चलचित्र र पर्यटन जोड्न विविध गतिविधि सञ्चालन गरिने जनाइएको छ ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णाली महोत्सवले कर्णालीका ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने गरी 'रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट' पनि आयोजना गर्ने बताए ।
महोत्सवमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तर्क्रिया र अवार्ड समारोह लगायतका गतिविधि समेटिने आयोजकले जनाएको छ । साथै, महोत्सवको सद्भावनादूतका रूपमा कलाकारद्वय प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्त पनि सुर्खेत आउने भएका छन् ।
कार्यक्रममा चलचित्र पर्यटन, जलवायु परिवर्तनको सन्देशलाई समेट्न प्रयास भइरहेको कार्यक्रमका सल्लाहकार डा. महेन्द्रकुमार मल्ले बताए । दुईदिने कार्यक्रममा बौद्धिक बहसमा छलफल हुने भएको छ ।
