काठमाडौँ — फिल्म ‘पठान’ शाहरुख खानको करिअरकै सफल फिल्ममध्ये एक हो । सन् २०२३ मा रिलिज भएको यो फिल्मले शाहरुखलाई करिब ५ वर्षपछि कमब्याक गराएको थियो ।
अब फिल्म ‘पठान’को सिक्वेल बन्ने भएको छ । आदित्य चोपडाले निर्माण गरेको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए ।
अब बन्ने सिक्वेललाई भने सिद्धार्थले निर्देशन गर्ने छैनन् । फिल्म आयान मुखर्जीले गर्नेबारे छलफल भइरहेको यशराज फिल्मस्ले जानकारी दिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको पटकथा पनि तयार भइसकेको छ । फिल्म अर्को वर्ष सुटिङमा जाने सम्भावना छ ।
यशराज फिल्मस्को ब्यानरबाट बन्ने यो फिल्म सन् २०२७ मा रिलिज हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।‘पठान’ले भारतको बक्स अफिसमा मात्रै ५ सय ४३ करोडको व्यापार गरेको थियो ।
