'तुम्बाड' स्टार सोहमको नयाँ फिल्म 'क्रेजी' आउँदै

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

'Tumbaad' star Soham's new film 'Crazy' is coming

काठमाडौँ — 'तुम्बाड' स्टार सोहम शाहको नयाँ फिल्म 'क्रेजी' शुक्रबार प्रदर्शनमा आउने भएको छ ।

सन् २००९ मा 'बाबर'बाट फिल्ममा डेब्यू गरेका उनलाई २०१२ को 'सीप अफ थिसस'ले नेसनल अवार्ड समेत दिलाएको थियो। माधुरी दिक्षित र जुही चावलासँग 'गुलाब ग्याङ'मा, इरफान खानसँग 'तलवार', कंगना रनावतसँग 'सिम्रन', अभिषेक बच्चनसँग 'द बिग बुल', हुमा कुरेशीसँग 'महारानी २', सोनाक्षी सिन्हासँग 'दहाड'मा काम गरिसकेका उनलाई चिनाउने फिल्म भने सन् २०१८ को 'तुम्बाड' हो।

सोहमकै मुख्य भूमिका रहेको 'तुम्बाड'ले बक्स अफिसमा कमाइ मात्र गरेको थिएन बरु समlक्षकहरूबाट समेत प्रशंसा कमाएको थियो।  'तुम्बाड'को सफलतालाई अन्तर्राष्ट्रिय पत्रिका 'फोर्ब्स'ले समेत उल्लेख गरेको थियो। 

सोहम शाह फिल्मस्‌कै ब्यानरमा बनेको उनको नयाँ थ्रिलर ड्रामा फिल्म 'क्रेजी' लाई लेखक गिरिश कोहलीले निर्देशन गरेका हुन्। कोहलीले यसअघि श्रीदेवी स्टारर थ्रिलर जनराकै 'मम'को पटकथा लेखिसकेका छन्। सन् २०१२ मा 'माराथन बाबा' नामको किताबले उनलाई लेखकको रूपमा स्थापित गरेको हो। श्रीदेवीको 'मम'बाहेक उनले अक्षय कुमारको 'केशरी' र राजकुमार राव र सान्या मल्होत्रा अभिनित 'हिट : द फर्स्ट केस' का पटकथा समेत लेखेका हुन्। 

'क्रेजी'मा सोहमले डाक्टर अभिमन्यु सूदको चरित्र निर्वाह गरेका छन्। जहाँ एकदिन उनलाई एउटा रहस्यमयी फोन आउँछ। त्यो फोनपछि उनको सामान्य जीवनमा असामान्य घटनाक्रमहरू दोहोरिरहन्छन्। 

फिल्म २८ फेब्रुअरी, शुक्रबारबाट प्रदर्शनमा आउनेछ।

कान्तिपुर

Link copied successfully