काठमाडौँ — फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्मको छायांकन बुधबारदेखि सुरु गरिएको छ ।
उनको नयाँ फिल्म ‘कोशेढुंगा’को च्यासलस्थित सेटमा मुहूर्त सटसँगै छायांकन सुरु गरिएको हो ।
फिल्मको एक साताको छायाँकन काठमाडौंमा गरेर त्यसपछि स्याङ्जा जाने निर्देशक पौडेलले बताए । फिल्ममा सुरक्षा पन्तको प्रमुख भूमिका रहनेछ । त्यसैगरी आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् ।
यो फिल्म २०८२ मा रिलिज हुने बताइएको छ ।
