काठमाडौँ — कलाकार केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ आजबाट छायांकनमा गएको छ । लिड चरित्रको हिसाबमा केदारको यो पहिलो फिल्म हो ।
यसअघि सहायक चरित्रहरू निर्वाह गरिरहेका केदारले पहिलो पटक केन्द्रीय भूमिकामा काम गर्दा कस्तो महसुस गरिरहेका छन् त? भन्छन्, ‘मेरो लागि भूमिका भन्दा पनि अभिनय महत्त्वपूर्ण कुरा हो ।’
‘मेरी बास्सै’ टेलिशृङ्खलाबाट लोकप्रिय बनेका केदारले ‘छ एकान छ’, ‘वडा नम्बर छ’, ‘छ माया छपक्कै’देखि ‘छक्का पञ्जा’ शृंखलामा काम गरिसकेका छन् । पछिल्लो पटक ‘जेरी अन टप’मा पनि उनले काम गरिसकेका छन् ।
‘म कामलाई पूजा गर्ने मान्छे । त्यसैले कहिल्यै लिड र सहायक भनेर छुट्याइनँ,’ उनी भन्छन् । केदारका अनुसार उनलाई ‘हिरो’को मान्यता भन्दा पनि चरित्रले निर्वाह गर्ने भूमिकासँग विश्वास छ । भन्छन्, ‘अरुले गर्ने हिरो होला । म चाहिँ हिरोभन्दा पनि पात्रले गर्ने कामसँग विश्वास गर्छु ।’
केदारले आफूलाई तीन महिनादेखि यो चरित्रका लागि तयार पारिराखे । यद्यपि, मुख्य चरित्रले फिल्मलाई काँधमा बोक्छ भन्ने कुरासँग उनी सहमत छैनन् । ‘फिल्मका लागि मुख्य चरित्र मात्र हैन । हरेक चरित्रको काँध उत्तिकै बलियो चाहिन्छ,’ उनी भन्छन् ।
फिल्ममा चरित्रको हिसाबमा आफ्नो भन्दा पनि बलियो काँध भएका कलाकार भएकाले कुनै डर अनुभूत नगरेको उनी बताउँछन् । ‘आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, र शिशिर बाङ्देलजस्ता कलाकारको बलियो काँध हुँदाहुँदै मलाई के चिन्ता,’ उनी भन्छन् ।
फिल्ममा सशक्त ढंगले आफ्नो भूमिका निर्वाह गर्ने प्रयत्न गर्ने उनी बताउँछन् । ‘सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो काम हो । सकेसम्म पात्रलाई न्याय दिने प्रयत्न गर्छु,’ उनी भन्छन् । यो फिल्मको छायांकन काभ्रेको पनौतीबाट सुरु हुँदैछ।
सामिप्यराज तिमल्सिनाको लेखन तथा ऋषि लामिछानेको निर्देशन रहने फिल्म आगामी वर्षको हरितालिका तीजमा प्रदर्शन हुनेछ ।
