पाँचथरमा गुञ्जियो ‘जोन एण्ड दि लोकल्स’

फाल्गुन १३, २०८१

लक्ष्मी गौतम

”John and the Locals” echoed in Panchthar

पाँचथर — लाइभ कन्सर्ट गर्न सोमबार आफ्नो ब्याण्ड ‘दि लोकल्स’ सहित पाँचथरको फिदिम आइपुगेका जोन चाम्लिङ स्टेज उक्लिने समय साँझको आठ बजे तोकिएको थियो ।

निर्धारित समयमै सुरु हुने भनिएकाले सयौं किशोर–किशोरी फिदिम माविको खेल मैदानमा ८ बजेअघि नै भेला भइसकेका थिए । स्टेजको दाँया बाँया राखिएका स्क्रिनमा अन गरिएको टाइमरले कार्यक्रम सुरु हुन १९ मिनेट बाँकी देखाइए पनि पुनः रिसेट गरेर एक घण्टा लम्ब्याइएसँगै भीडमा उपस्थित अधिकांशले ‘जोन नै आउनु पर्छ ’ भन्दै हुटिङ गरे ।

थपिएको एक घण्टामा फिदिमको बरदान संगीतालयका कलाकारहरुले रैथाने भाका र संस्कृति झल्काउने दर्जन गीत गाए । ५ मिनेट समय अवधि बाँकी रहँदा पुनः २० मिनेट लम्ब्याएर त्यो समय पनि स्थानीय कलाकारलाई नै दिइयो ।

लामो समयदेखि प्रतिक्षा गरिरहेका जोनका फ्यानहरुले धैर्यताको बाँध टुटाए । रातको साढे नौ बजे बल्लतल्ल दि लोकल्स ब्याण्ड स्टेज उक्लियो र १५ मिनेट समय खर्चेर ध्वनीययन्त्रको तारतम्य मिलाएपछि जोन गीत गाउँदै स्टेज उक्लिए ।

चाम्लिङले स्पटलाइटमा उभिएर दर्शकतिर ‘हावा जस्तै मलाई उड्न मन छ...’ भन्ने गीत गाउँदै दर्शकतर्फ माइक फर्काउदै सँगसँगै गाउन प्रेरित गरे । ‘अल्झाइ नराख ।’ बोलको गीतमा किशोरावस्थाका हजारौं दर्शकले भाकामा भाका मिलाए ।

उनले स्टेजबाट ‘तिमीलाई पनि म बिर्सिदिन्छु...’ र ‘मुटु नदुखाइ राख’ बोलका गति गाउँदा दर्शकदीर्घामा रहेका हजारौं फ्यानले स्वरमा स्वर मिलाए । चाम्लिङले ब्याण्डका सदस्यहरुहरुको अग्रभागमा उभिएर झण्डै दुई घण्टा एकपछि अर्को गर्दै गीत गाउँदै आफ्ना अनुभवसमेत बाँडे । 

जोशिलो आवाज र फुर्तिलो शरीरका साथ स्टेजमा उपस्थित भएका चाम्लिङले दुईघण्टासम्म प्रस्तुति दिइरहँदा दर्शकको उत्साह रत्तिभर घटेन । गीत सुरु गर्दा सँगसँगै गाउन थालेका उनीहरु एकपछि अर्को गर्दै सँगसँगै गाइरहे अनि अन्तिम गीत गाउँदासम्म ‘वान्स मोर..वान्स..मोर...’ भन्दै गायकलाई उक्साइरहे ।

धरानमा जन्मेर सांगीतिक क्षेत्रमा करिअर खोज्दै देश विदेशसम्म युवा र किशोर पुस्तामाँझ लोकप्रीय बनेका चाम्लिङ स्टेज कार्यक्रम गर्न पहिलो पटक पाँचथरको फिदिम आइपुगेका हुन् ।

फिदिमस्थित व्याक विन्स क्याफे एण्ड बारको अगुवाइमा उनको ब्याण्ड दि लोकल्स सँग जोन पाँचथरको फिदिम आएका थिए । पहिलो पटक फिदिममा आयोजित जोन चाम्लिङको प्रस्तुति हेर्न पाँचथरसहित इलाम, ताप्लेजुङ र तेहथुमसम्मका प्रशंसक फिदिम माविको खेल मैदान आइपुगेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully