काठमाडौँ — हास्य टेलिसिरियल ‘सक्किगोनि’मा लोकप्रिय पात्र छ, ‘जिग्री’ । जब नियमित देखिने पर्दाबाट त्यो पात्र एकाएक गायब भयो, सधैँ हेर्नेहरूले प्रश्न गरे, ‘जिग्री खोइ ?’
युट्युबमा प्रसारित सामग्रीको कमेन्टमा माग हुन थाल्योे, ‘जिग्री चाहियो ।’
जिग्री हराएका भने थिएनन् । सहरमाथि कुनै डाँडामा गुप्तबास बसेर कुमार कट्टेल लेखिरहेका थिए, कर्णालीका कथा । आँखामा मुस्किलले मुस्कुराइरहेको कर्णालीका चित्रलाई सदृश्य उतारिरहेका थिए ।
चाहन्थे उनीे– कर्णाली हाँसोस् ।
तर त्यही भूगोलमा चलिरहेको महोत्सवमा पुग्दा, स्टेजमा चढेर हँसाउन ठिक्क परेका ‘जिग्री’लाई उदेकलाग्दो प्रश्नले ठुँग्थ्यो, ‘यहाँ कहाँ हाँसो छ र, जहाँ म हसाउँन सकूँ ?’
मन गाँठो पारेर उनी घोत्लिन थाल्थे, ‘जिन्दगीभरको हँसाइ के आधा घण्टाको हो ?’ अनि लामा दिनहरूको मन्थनपछि उनले निर्क्यौल गरे, ‘म कर्णालीको कथा भन्छु ।’
टिमका हितैषीहरूलाई टेलिसिरियलको जिम्मा लगाएर उनी यात्रामा हिँडे । अभाव र पीडाका रुपमा मात्र चिनाइएको कर्णालीमा उनले राज्यको अनुपस्थिति देखे ।
‘यहाँ त प्रशस्त सम्भावना रहेछन् । यसलाई किन देखाउन खोजिएन । कर्णालीवासी आफैंमा गरिब होइनन्, राज्यले गरिब बनाएको रहेछ,’ कुमार आफ्नो अनुभूति साट्छन् ।
०००
एक दशक सिरियलमा जबर्जस्त भिजिरहेका कुमार र अर्जुन घिमिरेको टिमले फिल्म बनाउने हल्ला विस्तारै फैलियो । केही व्यक्तिले पूर्वाग्रह साँधेर भने, ‘सिरियलका मान्छेले कस्ता फिल्म बनाउलान् र ?’
उनीहरू ढुक्क थिए, ‘त्यसको जवाफ फिल्मले दिनेछ ।’
उसो त कुमारले जीवनमा तय गरेको बाटो नै फिल्म थियो । लामा सफरहरूबाट उनी पहिलो पटक आफ्नो सपना नजिक उभिएका छन् । फिल्म प्रदर्शन नजिकिँदै गर्दा कुमार आफ्ना संघर्षमयी दिनतर्फ फर्कन्छन् ।
कलेज पढिरहेको युवक फिल्मका कथा सोच्दै समय बिताउँछ । ‘नेपाली सिनेमा हेर्थेँ, चित्त बुझ्दैन थियो । लाग्थ्यो– योभन्दा बेटर त म बनाउँछु,’ उनी सुनाउँछन्, ‘बलिउड-हलिउड सिनेमा हेर्थेँ, अनि हाम्रो मौलिक पहिचानमाथि काम गर्न मन लाग्थ्यो ।’
प्लस टुपछि उनी अध्ययनका लागि बेलायत पुगे । बेलायत बसिरहँदा पनि उनका आँखामा फिल्मका दृश्य दौडन्थे । हुटहुटी बढ्दै गएपछि ठाने, ‘अब नेपाल गएर फिल्म बनाउने बेला भयो ।’
नेपाल फर्किँदा कुमारसँग कथाहरू थिए, जुन सिनेमा बन्न सकून् । ‘यतिको कथामा धेरैले विश्वास गर्नुहुन्छ । पत्याउनुहुन्छ । मैले फिल्म बनाउँछु,’ सायद विमानस्थलमा टेक्दै गर्दा पनि उनी यो सोचिरहेका थिए ।
तर, उनले सोचेजस्तो थिएन फिल्म क्षेत्र । न अवस्था थियो, उनले सोचेका कथा दृश्यमा उतार्ने सम्भावना । निर्माताहरूलाई कथा सुनाउँदै गर्दा पनि कुमारलाई विश्वास थियो, ‘अब त नौलो चिजलाई नेपालमा स्वीकार गर्नुहुन्छ ।’
तर उनको अपेक्षाविपरीत एक निर्माताले भने, ‘तपाईँले यो कथा यूकेतिरै सुनाएको भए काम लाग्थ्यो । यहाँ यस्तो फिल्म बन्न अझै समय लाग्छ ।’
यात्राको पहिलो पाइलामै ठेस लाग्यो । त्यसपछि फरक फरक कथा सुनाउने क्रम बाक्लिँदै गयो । आशा भने पातलिँदै । अन्ततः निझो आशालाई मार्न नदिई निरीह भावमा कुमारले ठाने, ‘एक दिन त हुन्छ । तर अझै समय लाग्ला ।’
तत्काल फिल्ममा सम्भावना रहेन । कुमारलाई फिल्मको मैदानमा संघर्ष गर्न पनि यसैको टेको चाहिन्थ्यो । उनले सिरियलमा काम गर्न थुप्रै मिडिया र एजेन्सी धाए । ‘रातको १२ बजेसम्म पनि म काम पाउने आसले मान्छेहरूलाई भेट्न बस्थेँ तर भेट्न पाउँदिन थिएँ । त्यसपछि हिँड्दैहिँड्दै चाबहिलको डेरामा आएर सुत्थेँ,’ उनी सम्झिन्छन् ।
कुमारको हरेक दिनको सुरुवात एक्साइटमेन्टबाट हुन्थ्यो । ‘आज त कोही भेटिन्छ भन्ने लाग्थ्यो । फोन उठाउनेले भोलि र पर्सि भनेर टार्थे,’ उनी सुनाउँछन् । रात ढलेसँगै उनको आशा पनि ढल्थ्यो । भोकभोकै डेरामा सुतिरहेको बेला मन सम्हाल्दै उनी भन्थे, ‘एक दिन न एक दिन त केही होला ।’
तर थाहा थिएन- हुन्छ कहिले ?
थाहा थिएन- पत्याउँछ कसले ?
यतिन्जेल धेरैको मनमा उब्जन पनि सक्ला, ‘धुर्मुसको भाइ भएर यति संघर्ष ?’ यी प्रश्न नआएका पनि होइनन् । तर उनी चाहन्न थिए दाइको टेकोमा उभिन ।
‘म योग्य छु भने आउँछुु, दाइको नाम बेचेर दुईचार दिन चम्किनु त छैन,’ उनको अडान थियो । उनी दाइ जतिकै ‘भयानक’ संघर्ष गरेर उभिन चाहन्थे आफ्नै जगमा ।
नेपाल फर्किएको ५ वर्षभन्दा बढी बितिसक्यो । उनको घनचक्कर सकिएको थिएन । अभावमा बाँचिरहेको समय थुप्रै दिनसम्म लागे, ‘एक छाक खान पाए पनि एक हप्तालाई दौडन्थेँ होला ।’ त्यतिबेला मनभित्रको हुटहुटीले भनिरहन्थ्यो, ‘तँ सक्छस्, छोड्नुहुन्न ।’
पत्रकार विदुर खतिवडा सहानुभूतिजन्य भावमा कुमारलाई भन्थे, ‘यहाँ सोचेजस्तो छैन भाइ । तिम्रो त माया लाग्न थालिसक्यो । बाँच्नु पनि पर्छ । तिमी त अर्को बाटो खोज ।’
उनै विदुरले एक दिन कुरैकुरामा भने, ‘सिस्नुपानी झ्याम्मै भन्ने टेलिसिरियलमा अर्जुन घिमिरे भाइ छ । ऊसँग मेरो राम्रै छ । उसलाई भेटाइदिन्छु । भेटेर कुरा गर ।’
बल्लबल्ल एउटा आशाको मधुरो बत्ती बल्यो । उनी अर्जुनलाई भेट्न बतासिँदै तीनकुने हिँडे । तर बाटोको जामले तोकिएको समय नै निलिदियो । एउटा सम्भावना पनि फुत्कन्छ भन्ने डरले उनलाई डसिरह्यो । ‘केही चिज त हुन लागेको थियो । हुँदाहुँदा जाम पनि बाधक भइदियो । मेरा सप्पै बाटा बन्द छन् । सायद यो पनि बन्द गरिदिएको होला,’ बाक्लो सवारीसाधनको भीडमा उनले थकित हुँदै सोचे ।
धन्न, अर्जुनले उनलाई पर्खेर बसेका रहेछन् । पहिलो भेटमा अर्जुन सकारात्मक देखिए । भने, ‘मिलेर गरौँ ।’
त्यसपछि छुटेका अर्जुन गायब भए । दुई-चार दिनसम्म पनि फोन उठेन । उनी शान्तिनगरस्थित एकजना दाइको कोठामा दुई दिनदेखि निराश हुँदै बसिरहेका थिए । त्यहीबेला एउटा आशा जगाउने फोन आयो, ‘तपाईं कहाँ हुनुहुन्छ ? अर्जुन दाइले भनेको अहिले जसरी पनि सुटिङस्थलमा आउनुस् रे ।’
त्यसपछि कुमार दौडँदै ‘सिस्नुपानी झ्याम्मै’को सेटमा पुगे । त्यो टेलिसिरियलको छैटौं भाग थियो । त्यही एपिसोडदेखि कुमार लेखन र निर्देशनमा अर्जुनसँग जोडिए ।
‘म गएपछि सातौँ भागबाट नयाँ तरिकाले जाऔँ भन्ने कुरा भयो । सातौँ भागबाट धतुरे र अर्जुनको क्यारेक्टर पाँडेको फ्रेम बनायौँ । १८ भागसम्म एकदमै राम्रो रेस्पोन्स पायौँ,’ उनी सुनाउँछन् ।
१८औँ भागपछि काम रोकियो । ‘भद्रगोल’को डमी बन्यो । तर सम्पादन सकिएर पनि एक वर्ष थन्कियो । एक वर्षपछि फेरि ‘भद्रगोल’ले लय लियो । त्यसपछि अगाडि बढेका कुमार र अर्जुनका पाइला अहिलेसम्म पछाडि फर्किएका छैनन् । ‘भद्रगोल’ हुँदै ‘सक्किगोनि’सम्म आइपुग्दा उनीहरूको लेखन र निर्देशन मात्र होइन, जिग्री र पाँडे लगायत हरेक पात्र लोकप्रिय बने । यतिसम्म कि, एउटा एपिसोडमा देखिएन भने पनि खोजी हुन्थ्यो, ‘जिग्री खोइ ।’
टेलिसिरियमा रमाइरहँदा थुप्रै तारिफ बटुले । कहिल्यै प्राप्त नगरेको उपलब्धि हासिल गरे । तर जेका लागि उनले यात्रा गरेका थिए, त्यो कतै छुटिरहेको थियो । विस्तारै पाइरहेको लोकप्रियताभन्दा बाहिर बसेर सोच्न थाले, ‘यो मात्रै हो त सफलता ? यो त दोस्रो अप्सन थियो । पहिलो अप्सन कहाँ हरायो ?’
त्यसपछि उनी फिल्मको यात्रामा पुनः होमिए ।
०००
कथामा लेखिएको शब्द दृश्यमा उतार्न सहज थिएन । ठूलो टिम बोकेर कर्णाली पुग्नु निकै चुनौती थियो कुमारका लागि । ४६ सय मिटरको उचाइमा काम गर्दागर्दै अभिनेता महेश त्रिपाठी ढले । उनलाई तत्काल तल रेस्क्यु गरियो । कुनै बेला कुमार नै ढल्ने स्थिति पनि आयो ।
‘हामी डाक्टर र अक्सिजनसहित काम गरिरहेका थियौँ । तर पनि जीवन र मरणको दोसाँधमा थियौँ,’ कुमार सम्झन्छन्, ‘ अक्सिजन पर्याप्त नपुग्ने । निदाइयो भने निदाएको निदायै भइन्छ कि भन्ने डर ।’
कैयौं रात ऐँठन भयो । तैपनि खिच्नु थियो कथा । गर्नु थियो प्रमाणित । सुटिङ सकिँदा गह्रुँगो भारी बिसाएझैं भयो कुमारलाई । मन शीतल भयो । सोचे, ‘जुन भारी बोक्ने आँट गरियो । त्यो हामीले नै बोक्नुपर्थ्यौ, बोक्यौं ।’
अब केही क्षणका लागि टेलिसिरियलमा हराएका कुमारको खोजीमा पूर्णविराम लागिसकेको छ । दर्शकहरू कुमारको नयाँ कोसेलीका लागि प्रतीक्षा गरिरहेका छन् । उनको लेखन/निर्देशनमा 'लाज शरणम्' बुधबारबाट आम दर्शकले प्राप्त गर्नेछन् । कोसेली कसैलाई मिठो लाग्ला, कसैलाई तितो । उनी आत्मविश्वासका साथ यतिचाहिँ भन्न सक्छन्, ‘तर सबैले स्वीकार अवश्य गर्नुहुन्छ ।’
