२६ वर्षपछि फेरि हलमा लाग्दै ‘दिल तो पागल है’

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

After 26 years, Dil Toh Pagal Hai is coming back to the theaters.

काठमाडौँ — बलिउड फिल्म ‘सनम तेरी कसम’ प्रदर्शनको ९ वर्षपछि फेरि सिनेमा हलहरूमा पुन: प्रदर्शन भयो ।

९ वर्षअघि ९ करोड कमाइ गरेको यो फिल्म बक्स अफिसमा असफल भएको थियो । अहिले ‘सनम तेरी कसम’को उत्साहजनक व्यापारमाझ अभिनेता शाहरुख खानको क्लासिक फिल्म पनि सिनेमाघरमा पुन: प्रदर्शन हुने भएको छ । 

शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरको सुपरहिट फिल्म ‘दिल तो पागल है’ पुन: प्रदर्शन हुने भएको हो । यो फिल्म सन् १९९७ मा रिलिज भएको थियो । पहिलो रिलिजको २६ वर्षपछि अब यो फिल्म आगामी शुक्रबारदेखि पुन: भारतीय सिनेमा हलमा प्रदर्शन हुँदै छ । 

यशराज फिल्म्सले फिल्मको पुन: रिलिजको घोषणा गर्दै सामाजिक सञ्जालमा उल्लेख गरेको छ, ‘प्रेम, रोमान्सको युग फेरि फर्कँदैछ ।’ 

फिल्मको पुन: रिलिजको मिति सार्वजनिक भएपछि शाहरुखका प्रशंसकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यो फिल्मको कथा र गीतबारे आजसम्म पनि चर्चा भइरहने गर्छ । यो फिल्मलाई यश चोपडाले निर्देशन गरेका थिए । त्यतिबेला बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो । 

पछिल्लो समय शाहरुखको ‘पठान’ र ‘जवान’ जस्ता फिल्महरूले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेका थिए ।

कान्तिपुर

Link copied successfully