What you should know
काठमाडौँ — शिवरात्रि (१४ चैत) मा तीन फिल्म एकसाथ प्रदर्शन हुँदै छन् । कुमार कट्टेल निर्देशित ‘लाज शरणम्’, निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिलि’ र दिवाकर भट्टराई निर्देशित ‘मायावी’ एकसाथ प्रदर्शन हुने भएका हुन् ।
तीनवटै फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शन अनुमति पाइसकेका छन् । 'लाज शरणम्’ सामाजिक कथामा आधारित कमेडी विधाको फिल्म हो ।
केही दिनअघि मात्र पात्रको आवरण आफ्नो आवरणसँग हुबहु मिलेको भन्दै यो फिल्मविरुद्ध पूर्वमन्त्री अफताव आलमले मुद्दा हालेका थिए ।
उच्च अदालत पाटनले सेन्सर बोर्डले अनुमति नदिई फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो । यो फिल्मलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिइसकेको छ । ‘लाज शरणम्’लाई जेपीटी क्रिएसनले निर्माण गरेको छ ।
‘फेरि रेशम फिलिलि’ २०७२ मा रिलिज भएको ‘रेशम फिलिलि’को सिक्वेल हो ।
त्यतिबेला नेपालमा आएको विनाशकारी भूकम्पका कारण फिल्मको व्यापार प्रभावित बनेको थियो । यो पनि सामाजिक कथामा आधारित कमेडी विधाको फिल्म हो ।
फिल्म ‘मायावी’ भने लभस्टोरी फिल्म हो ।
