पिलिभितको मैत्री महोत्सवमा कौडा नृत्य

फाल्गुन १२, २०८१

भवानी भट्ट

Kauda dance at Maitri festival in Pilibhit

पिलिभित, भारत — गुन्यु–चोलीमा सजिएकी कैलाली धनगढीकी करुणा मगर साथीसँगै मगर समुदायको लोकप्रिय कौडा नृत्य प्रदर्शनको तयारीमा थिइन् । भारत उत्तर प्रदेशको पिलिभित जिल्लास्थित गान्धी स्टेडियमा जब कौडा नृत्य प्रस्तुत हुन थाल्यो, सबैको ध्यान तान्यो । कार्यक्रममा सहभागी सबैले ताली बजाएर उनीहरूको स्वागत गरे ।

आइतबार पिलिभितमा सम्पन्न नेपाल–भारत मैत्री महोत्सवमा मगर समुदायको कौडा नृत्य आकर्षणको केन्द्र बनेको हो । यति मात्रै होइन, सुदूरपश्चिमको छलिया नृत्य पनि प्रमुख थियो । ‘आफ्नो समुदायको परम्परा देखाउन पाउँदा निकै खुसी लागेको छ,’ एक सातादेखि महोत्सवमा जोडिएकी मगरले भनिन्, ‘हाम्रो संस्कृति मिल्दोजुल्दो छ, यसले दुवैतर्फका संस्कृतिकर्मीलाई परिचित गराएको छ ।’ उनीसहित १२ कलाकार महोत्सवमा सहभागी थिए ।

उत्तर प्रदेश सरकारको संस्कृति र पर्यटन विभागले फेब्रुअरी ५ देखि सिद्धार्थनगरबाट महोत्सवको आयोजना गरेको हो । नेपालसँग सीमा जोडिएका ८ स्थानमा दुवै देशका संस्कृति झल्किने परम्परागत नृत्यदेखि विभिन्न किसिमका कार्यक्रम गरी आइतबार कञ्चनपुरसँगै जोडिएको पिलिभित जिल्लामा महोत्सव समापन गरिएको हो ।

‘यो महोत्सवले सीमा क्षेत्रका समस्यासँगै नागरिक स्तरको सम्बन्ध अझ राम्रो बनाउन सक्छ,’ अर्का कलाकार लक्ष्मण ढुंगालले भने, ‘संस्कृतिका माध्यमबाट एकापसमा जोडिने प्रयास भएको छ ।’ उनी पनि कौडा नृत्यमै सहभागी हुन पिलिभित पुगेका हुन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको सिद्धार्थनगरबाट सुरु भई कुशीनगर, महाराजगन्ज, बलरामपुर, श्रावस्ती, बहराइच, लखीमपुर खिरी हुँदै पिलिभितमा पुगेर कार्यक्रम समापन गरिएको हो । समापनका अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, संविधानसभा सदस्य कृपाराम रानालगायतको उपस्थिति थियो ।

‘हामी धार्मिक र सांस्कृतिक रूपमा एकापसमा बाँधिएका छौं, यसले हामीलाई अझ नजिक ल्याएको छ,’ महोत्सवको समापनका अवसरमा आफ्नो धारण राख्दै पूर्वमुख्यमन्त्री रावलले भने, ‘यसले सीमा क्षेत्रका नागरिकबीचको सम्बन्ध अझ प्रगाढ हुनेछ ।’ उनले परम्परादेखि नै बिहेबारीदेखि समान संस्कृति र धार्मिक मान्यताका कारण नागरिक स्तरको सम्बन्ध रहेको बताए । यसलाई अझ बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए ।

उत्तर प्रदेशको संस्कृति तथा पर्यटन विभागका सहनिर्देशक डा. राजेश अहिरवारले नेपाल र भारतबीच भौगोलिक सीमा भए पनि सांस्कृतिक रूपमा कुनै सीमा नभएको बताए । यही विषयलाई मध्यनजर गरी विभागले नियमित रूपमा यस्ता कार्यक्रम गरिरहेको उनले बताए । गत वर्षदेखि नियमित रूपमा महोत्सव सञ्चालन भइरहेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully