‘गेम चेन्जर’का निर्माताविरुद्ध उजुरी, कलाकारलाई पारिश्रमिक नदिएको आरोप

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Complaint against the producer of 'Game Changer', allegations of not paying the artist

काठमाडौँ — गत जनवरीमा रामचरण र कियारा आडवाणी स्टारर फिल्म 'गेम चेन्जर’ प्रदर्शन भयो । अहिले यो फिल्मका निर्देशक तथा निर्मातामाथि ३ सय ५० जना 'जुनियर आर्टिस्ट'लाई पारिश्रमिक नदिएको आरोप लागेको छ ।

प्रहरीमा उनीहरूले निर्देशक तथा निर्माताविरुद्ध मुद्दासमेत दर्ता गरेका छन् ।

गुन्टूर प्रहरी स्टेसनमा जाहेरी दर्ता गराउँदै कलाकार तरुणले फिल्म सुटिङका लागि ३ सय ५० जना जुनियर आर्टिस्ट हैदराबाद लगिएको र उनीहरूको पारिश्रमिक अहिलेसम्म नदिएको बताए । उनले फिल्मका निर्देशक एस शंकर र निर्माता दिल राजूसँग रकम भुक्तानीको माग गरेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार गुन्टूर र विजयवाडाबाट लगिएका ३५० जना जुनियर आर्टिस्टलाई १२०० रुपैयाँ प्रतिव्यक्ति दिने वाचा सहनिर्देशक स्वर्गम शिवाले गरेका थिए । यद्यपि, हालसम्म पनि उनीहरूलाई पारिश्रमिक नदिइएको बताइएको छ । 

फिल्म 'गेम चेन्जर’मा राम चरणले डबल रोलमा अभिनय गरेका छन् । जसमा उनले राम नन्दन र अप्पन्ना नामका दुई भूमिका निभाएका छन् । फिल्मको कथा एक आईएस अधिकारी राम नन्दनका बारेमा छ, जो चुनावी राजनीति र भ्रष्टाचारविरुद्ध लड्छ । 

फिल्मको बजेट ४०० करोडभन्दा बढी थियो । तर बक्स अफिसमा फिल्मले १३१.१७ करोड र विश्वभर १८६.२५ करोड मात्र कमाइ गर्‍यो । 

कान्तिपुर

Link copied successfully