मौसमजस्तो छ त्यसमै फिल्म खिच्छु : होङसाङ सु

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

I will film in whatever the weather is like: Hongsang Soo

बर्लिन — चर्चित कोरियाली निर्देशक होङ साङ सु यो पटक बर्लिनमा ‘ह्वाट डज द्‌याट नेचर से टू यु’ शीर्षकको फिल्म लिएर आइपुगेका छन् । उनी बर्लिन निरन्तर आइरहने निर्देशकमै पर्छन् । यसअघि उनका पाँच फिल्म बर्लिनको मुख्य प्रतिस्पर्धामा थियो ।

गत वर्ष ‘अ ट्राभलर्स निड्स’बाट उनले सिल्भर बिअर ग्रान्ड जुरी उचालेका थिए । यो पटक पनि ‘ह्वाट डज द्‌याट नेचर से टू यु’ मुख्य प्रतिस्पर्धातिर नै छ । 

यो फिल्मको कथा रोचक र सामान्य छ । एकदिन एक प्रेमीले आफ्नी प्रेमिकालाई राजधानी सोलबाट केही परतिर बस्दै आएको परिवारकहाँ पुर्‍याइदिन जान्छन् । त्यही क्रममा प्रेमीको भेट प्रेमिकाको बुवासँग हुन्छ । त्यही भेटसँगै फिल्मको कथा अगाडि बढ्छ । ३३ औं फिचर फिल्मलाई होङले एउटै परिवारको कथा वरपर नै खिचेका छन् । 

आखिर एउटै परिवारको कथामाथि कसरी फिल्म बनायौ ? बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा होङलाई कसैले प्रश्न गर्‍यो । आफूले कुनै एक भेलाबीच नियालेको दुई प्रेमी प्रेमिकाको एउटा प्रसंगबाटै फिल्म निर्माण गरेको होङले बताए । ‘फिल्म बनाउँदा सन्देश दिने किसिमको शैली समात्दिनँ । मैले केही कुरा भन्न खोज्दा यस्ता पक्षहरुलाई समाएर कथा भन्छु,’ उनले भने ।

खासमा त्यो एक भेलामा कोङ सोइ र फिल्मका अर्का कलाकार हा सेङगुक होङसँगै थिए । त्यही बेला उनले थाहा पाए, कोङको परिवार सहरतिर केही पर बस्छ भन्ने । त्यतिबेलै उनले कल्पना गरेँ, यस्तै शान्त ठाउँमा बस्दै आएको एउटा परिवार । कुराकानीकै क्रममा होङले ठट्टा गर्दै भनेको थिएँ,’ तिम्रो परिवारले मलाई त्यहाँ बोलाउन मिल्दैन ।’

त्यसपछि कोङको परिवारले होङसाङलाई घरमा निम्तो गरे । त्यतिबेला हा सङगुकलाई पनि उनले त्यहाँ लिएर गएका थिए । ‘अनि हामी सँगै त्यो दिनभरि थियौं । त्यसपछि मलाई लाग्यो, यसमा त फिल्म बन्न सक्छ । अनि फिल्मको काम सुरु गरेँ,’ हो साङसुलले भने, ‘म अधिकांश समय पहिला छायांकन स्थल खोज्छु । त्यसपछि चरित्र अनि मौसम । म जस्तो मौसम हुन्छ, त्यसमै फिल्म खिच्छु । अनि यही तत्त्वहरु फिल्मको संरचना बन्छन् ।' 

कान्तिपुर

Link copied successfully