काठमाडौँ — बलिउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म चाँडै नै प्रदर्शनमा आउने भएको छ । गजिनीका निर्देशक ए.आर. मुरुगादोसको फिल्म 'सिकन्दर'मा मुख्य भूमिकामा उनी देखिने भएका हुन् ।
आउँदो मार्च २८ को दिन इदको अवसर पारेर प्रदर्शनमा आउन लागेको 'सिकन्दर' मा सलमान खानसँगै रश्मिका मन्दाना, काजल अग्रवाल, सत्यराज, शरमन जोशी र प्रतीक पाटिल बब्बर पनि देखिनेछन् ।
फिल्ममा प्रितम चक्रवर्तीका गीतहरू छन् भने यसको ब्याकग्राउण्ड म्युजिकमा सन्तोष नारायणले काम गरेका छन् । एस. थिरुको सिनेम्याटोग्राफी रहेको फिल्मको सम्पादन विवेक हरसनले गरेका हुन् ।
विशेषगरी तमिल र तेलुगु सिनेमा बनाउने मुरुगादोसले बलिउडका अर्का सुपरस्टार आमिर खानलाई लिएर 'गजिनी'मार्फत बलिउडमा सन् २००५ मा डेब्यु गरेका हुन् । आमिरपछि उनले अक्षय कुमार, सोनाक्षी सिन्हा, अनुराग कश्यप लगायतका कलाकारसँग हिन्दी फिल्ममा काम गरिसकेका छन् । उनको तमिल सिनेमा 'मदरासी' पनि २०२५ भित्रै प्रदर्शनमा जाने तयारीमा छ ।
सलमानलाई लिएर बनेको सिकन्दरको कथा निर्देशक मुरुगादोस आफैले लेखेका हुन् ।
