काठमाडौँ — टिमोथी स्यालमेट अभिनित फिल्म ‘अ कम्प्लिट अननोन’को जर्मन प्रिमियर सम्पन्न भएको छ । विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आकर्षण केन्द्र बनेका स्यालमेट र उनकी प्रेमिका काइली जीनरको उपस्थितिमा बर्लिन पलास्टमा फिल्मको प्रिमियर गरिएको हो ।
फिल्मको प्रिमियरअघि अभिनेता टिमोथीले रेड कार्पेट हिँडे । फ्यान घण्टौंदेखि उनको प्रतिक्षामा थिए । जसै स्यामलेट कारबाट उत्रिए, हिउँ पर्दै गरेको चिसो मौसममा दर्शक चर्को स्वरले कराउन थाले । स्यामलेटले फ्यानलाई अटोग्राफ दिए, तस्वीरहरु खिचाए । त्यही क्रममा फ्यानबीच चर्को हाँसो गुन्जियो जब एक फ्यानले स्यामलेट रेड कार्पेट हिँड्दै गर्दा उनको पुतला भीडबाट माथि उठाए ।
दर्शकदेखि मिडियाको ध्यान पनि एकछिन पुतलातर्फ पुग्यो । तर, फ्यानहरुसँग फोटो खिचाउन व्यस्त स्टारले त्यता ध्यान दिएनन् । रेड कार्पेट मात्रै होइन फिल्मको प्रिमियर अगाडि हलमा दर्शकले फेरि चर्को आवाज हल्ल मच्चाए । यो पटक दर्शक स्यामलेटका लागि होइन, उनकी प्रेमिका काइलीका लागि उत्साहित बनेका थिए । जसै स्यामलेट प्रिमियरका लागि स्टेजहुँदै बस्ने सिटतिर प्रस्थान गरे, छेउमा काइली आइपुगिन् । प्रेम दिवसको दिन यी दुई प्रेमिल जोडीको यस किसिमको उपस्थिति दर्शकको लागि उत्साहित हुने विषय भइहाल्यो ।
प्रतिष्ठित गायक बब डिलनको बायोग्राफीमा आधारित यो फिल्मको प्रिमियरपछि फेस्टिभल निर्देशक ट्रिसिया टटलले अभिनेता स्यामलेटलाई सोधे,’बब डिलनको चरित्रमा अभिनय गर्दा कस्तो अनुभव भयो ?’
चरित्र चित्रणमा पाँच वर्ष भन्दा बढी समय खर्चेका स्यामलेटले जवाफमा आफूले डिलनको आत्मा महसुस गर्दै यो फिल्म गरेको बताए । ‘मलाई लाग्छ, बब वास्तवमै अपरिचित व्यक्ति(अ कम्प्लिट अननोन) हुन् । देखावटी केही छैन । मैले यही कुरा अनुभव गर्दै उनको आत्मालाई छुन खोजें, उनीभित्रको सिर्जनात्मक पक्षलाई नियालें ।
बब डिलन वास्तवमै सुन्दर कलाकार हुन्,’प्रिमियरमा फिल्म देखाइएपछि स्यामलेटले भने । यो फिल्ममा टिमोथीले बबका सम्पूर्ण गीतलाई आफैले गाएका हुन् । जब फिल्मको समापनपछि क्रेडिट टाइटलमा हरेक गीत पछाडि टिमोथीको नाम आउँथ्यो, तब-तब पलास्ट हल तालीले गुन्जियो ।
