‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य 

फाल्गुन ३, २०८१

लक्ष्मी गौतम

Deepak Bajracharya danced with the rhythm band at Fidim on the night of Valentine's Day.

पाँचथर — आयोजकको तालिका अनुसार दीपक बज्राचार्य र उनको ब्याण्ड (रिदम) को प्रस्तुति शुक्रबार साँझ ८ बजेदेखि सुरु हुनुपर्ने थियो । स्थानीय कलाकारको प्रस्तुति, सम्मान र पुरस्कार वितरण जस्ता कार्यक्रम सकिएर बज्राचार्यलाई स्टेजमा निमन्त्रणा गर्दा ठ्याक्कै रातिको १० बज्यो ।

दर्शक बज्राचार्यको प्रस्तुति सुन्न कुरिरहेका थिए । निमन्त्रणा आउनासाथ स्टेज उक्लिएका रिदम ब्याण्डका कलाकारले वाद्यवादन सामग्री फिजाए, प्राविधिकहरुले यन्त्र जाँचे, माइक्रोफोन मिलाए, इञ्जिनियरले आवाजको गुणस्तर जाँचे सबै कुराको तारतम्य मिलेपछि बज्राचार्यले उपस्थित दर्शकलाई ज्याकेट फुकाउँदै सम्बोधन गर्न थाले । 

‘कार्यक्रम आठ बजे नै हुनुपर्थ्यो, हरेक ठाउाको आ–आफ्नै विशेषता हुन्छन् । यतिबेरसम्म कुरिदिनुभयो त्यसका लागि तपाईं सबैलाई आभार ।’ ‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति दिन थाले । 

पहिलो र दोस्रो गीत गाउँदा माहोल तातेन । दोस्रो गीत गाउनुअघि दर्शकलाई आफूसँगै गाएर नाच्न अनुरोध गरे । तेस्रो प्रस्तुति ‘काँचो माया पियारी’ बोलको गीत सुरु गर्नेबित्तिकै स्टेजमुनि रहेका दर्शक उत्साहित बने । चारवटा गीतसम्म माहोल गर्माइसकेको थियो । 

‘मायाको डोरीले’ गीत गाउँदा स्टेजमा धिमे बाजासहित लाखेले पनि प्रस्तिती दिन थाल्यो । 

दर्शक दीर्घामा गीत गाएर साथ दिनेहरु झनै हौसिँदै नाच्न थाले । ‘तपाईहरुको भ्यालेन्टाइन्स कस्तो हुँदै छ त ?’ दीपकले जब प्रश्न गरे– ‘गज्जब।’अगाडिबाट जवाफ आइरहृयो ।

बज्राचार्य र उनको टिमले मध्यरातसम्म २ घण्टासम्म निरन्तर प्रस्तुति दियो । रिदम ब्याण्डसहित पहिलो पटक पाँचथर आएका बज्राचार्यले स्टेजमा ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली’ हुँदै ‘कसले देला धन’सहित नयाँ–पुराना एक दर्जन गीत गाए ।

यत्तिका गीत गाउँदासम्म नाचेका अधिकांश पसिनाले निथ्रुक्कै भिजिसकेका थिए ।

भ्यालेन्टाइन्स डे अर्थात ‘प्रणय दिवस’ को साँझ आयोजना गरिएको यो कार्यक्रम हेर्न पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका दर्शक फिदिम माध्यमिक विद्यालयको मैदानमा भेला भएका थिए ।

फिदिमका सक्रिय युवाहरुले स्थापना गरेको सामाजिक संस्था ‘हेल्प टुगेदर फाउण्डेसन’ को आयोजनामा बज्राचार्य र उनको ब्याण्ड रिदम पाँचगरमा पहिलोपटक प्रस्तुति दिएन आएको हो । 

कन्सयर्टमा समावेश गरिएका नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाच आदीले आफ्नो मन खिचेको तेह्रथुमको आठराईबाट आएकी रमा कन्दङवाले बताइन् ।

युवा पुस्तामाँझ बढ्दो लागू पदार्थ दुर्व्यसन न्यूनीकरणसँगै गीत र संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन यो कार्यक्रम आयोजना गरिएको आयोजक हेल्प टुगेदर फाउण्डेसनका अध्यक्ष सुशिल श्रेष्ठले बताए ।

बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा युवती भेला भएका थिए । सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट कोही जोडी कसेर, कोही हुल बाँधेर त कोही गाडी नै रिजर्ब गरेर आएका प्रशंसकहरुले बज्राचार्यको लाइभ कन्सर्ट उत्साह साथ हेरे ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully