काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग जनताहरू विकास र परिवर्तनका अपेक्षा राख्छन् । तर, र्यापर बालेनसँग उनका स्रोताहरूले के-के अपेक्षा राखेका होलान् ?
अपेक्षा जे भएपनि बालेन मेयरमा निर्वाचित भएयता ती अधुरै थिए । चुनावी प्रचारको बेला गाएको ‘बलिदान’ गीतले निकै चर्चा कमाएको थियो । त्यतिबेला उनको इन्ट्री पनि कलात्मक देखिन्थ्यो ।
त्यसपछि बालेन बरु कवि अवतारमा देखिए । तर राजनीतिको रसमा मुछिएपछि उनीबाट र्याप भने गुम थियो । करिब २ वर्षपछि र्यापर बालेनको कमब्याक भएको छ ।
उनको कमब्याक गीत ‘म नेपाल हाँसेको’ अहिले युट्युवको ट्रेन्डिङ वानमा छ अहिले। गीतको स्थायी छ–
‘म नेपाल हाँसेको हेर्न चाहन्छु
नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु ।’
गीतसँगै अगाडि बढ्ने दृश्यकथाले नेपालीहरूले बाँचिरहेको विरोधाभासलाई जनाउँछ । चाहना हाँस्नु छ । सबैजना हाँसेको हेर्नु छ । तर भविष्यमा हाँस्ने सपना बुन्दै विमानस्थलमा कारुणिक रुपमा उभिएका श्रीमान्, श्रीमती र छोरीको आँसु पोखिएको छ । गीतको कथाले भन्छ– एउटा नेपाली आफ्नै देशमा ढुक्कले हाँस्ने अवस्था छैन ।
उनी र्यापमार्फत् प्रश्न गर्छन्, ‘भोको पेटमा हाँस्ने कसरी?’
बालखा छोरी र श्रीमतीलाई एक्लो छाडेर मन नहुँदा नहुँदै एउटा युवक किन खाडी पस्छ ? यो बाध्यतालाई लिएर बालेनका शब्दहरू राज्यसत्तामाथि आक्रोश पोख्छन् । जनजीवनका कस्टलाई उनीहरूकै भाषा र शैलीमा शब्द उनेका छन् बालेनले ।
उनी दोष देख्छन्, ‘भ्रष्टाचारी नेता र उनीहरूको स्वार्थमा ।’
बालेनका र्याप र दृश्यकथाले नेपालीहरूको कठोर यथार्थ झल्काउँछ । खुसी किन्न खाडी पसेको युवक वाकसमा फर्किन्छ । पछिल्लो समय वैदेशिक रोजगारमाथिका दर्दनाक कथामाथि फिल्म र गीतहरू बनिँदै आएका छन् । ‘द रेड सुटकेस’, ‘हल्कारा’जस्ता फिल्महरूले त अन्तर्राष्ट्रिय यात्रा पनि गरे । फिल्म ‘मुगलान’देखि नै यो विषयलाई गहिरो रुपमा उठाउँदै आएको देखिन्छ ।
‘लाज शरणम्’को प्रोमोसनल गीत
बालेनले गाएको यो र्याप फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत हो । कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’का लागि अगाडिदेखि नै बालेनले गाउने तयारी भइरहेको थियो ।
यो फिल्मसँग पनि बालेनको सुरुवाती समयदेखि नै शुभेच्छा थियो । ‘सक्किगोनी’ टेलिशृङ्खला निर्माण गरिरहेको यो टिमले बालेनले मेयरमा उम्मेदवारी दिँदा विभिन्न तवरबाट सघाइरहेको थियो ।
‘सक्किगोनी’को एक एपिसोड बालेनकै चुनाव प्रचारमा केन्द्रित कथा थियो । त्यसमा बालेनले पनि खेलेका थिए । निर्माण टिमका अर्जुन घिमिरेको बालेनसँग आत्मीय सम्बन्ध अगाडिदेखि नै थियो । यो फिल्ममा बालेनको र्यापमात्र हैन । उनले केमियो भूमिका गर्ने कुरा पनि भइरहेको थियो ।
प्राविधिक कारणले उनले केमियो भने गरेनन् । प्रोमोसनल गीतमा भने सहयोग गर्ने प्रतिबद्धता दिएका बालेनले आफ्नो वाचा पूरा गरे । गीतको भिडियोमा देखाएझैँ फिल्म ‘लाज् शरणम्’मा वैदेशिक रोजगारको कथा छ कि छैन ? त्यो भने हेर्न बाँकी छ ।
