कार्यक्रममा गायक सञ्जय तुम्रोक, राजु बाराकोटी, किनसराज गुरुङ र रोजी श्रेष्ठले राईका चर्चित गीत प्रस्तुत गरेका थिए
काठमाडौँ — संगीत सिर्जनामा जीवन अपर्ण गरेका स्रष्टाहरूलाई सम्मान गर्ने रेडियो कान्तिपुरको थलो ‘सलाम ज्युँदो इतिहासलाई’ को नयाँ अंकमा वरिष्ठ गायक एवं संगीतकार शम्भु राईलाई प्रस्तुत गरिएको छ । धनकुटामा जन्मिएका राईले पहिले लोकभाका र गीत गाए पनि पछि आधुनिक सुगम संगीतमा आफूलाई अभ्यस्त पारे । फलतः उनी आधुनिक गायकका रूपमा कहलिए ।
कान्तिपुर टेलिभिजनको स्टुडियोमा आयोजित कार्यक्रममा राईलाई रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले अभिनन्दन पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्नुअघि नै गीत गाएर पूर्वमा चर्चित भइसकेका राईले पछि त्यही गीतलाई रेडियोमा रेकर्ड गराए । गीत हो, ‘चलेछ बतास सुस्तरी मनै हरर, भरोसा छैन जीवनको बिताउँ हाँसेर ।’
रत्न रेकर्डिङले आयोजना गरेको प्रतिभाको खोजी गायन प्रतियोगितामा प्रथम भएका राईले २०४२ मा मात्रै सो गीत रेकर्ड गराएका थिए । सम्मान कार्यक्रममा सोही गीत सञ्जय तुम्रोकले गाउँदा राई निकै भावुक भए । भने, ‘म अहिले कतै हराएँ कि जस्तो लाग्छ । पहिलेको समय सम्झिँदा मन त्यसै हरर भएर आउँछ ।’
धनुकटाबाट नुन बोक्न ढाकर र तोक्मा लिएर धरान झरेका शम्भु त्यसपछि काठमाडौं हुँदै अमेरिकासम्म पुगे । तर उनको मन गीत/संगीतभन्दा पर कहिल्यै अडेन । थपे, ‘मलाई पहिचान दिने भनेको गीत/संगीत नै हो । योबिना मेरो अस्तित्व रहेनछ भन्ने लागेपछि विदेश छाडेर देश आई संगीत सिर्जनामा लागेको हुँ ।’
हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका राईका दर्जनौं एल्बम सार्वजनिक भइसकेका छन् । कुनै समय रेडियो नेपालमा सारंगीसमेत बजाउने काम गरेका यिनले नयाँ प्रतिभाको प्रस्फुटनका लागि श्रद्धा डिजिटल रेकर्डिङ स्टुडियोसमेत चलाए । रेडियो कान्तिपुरमा कुनै समय श्रद्धा संगीत नामक कार्यक्रम सञ्चालन गर्ने राईले आफू काम गरेको संस्थाबाटै सम्मानित हुन पाउँदा औधी खुसी मिलेको प्रतिक्रिया दिए ।
रेडियो कान्तिपुर र कान्तिपुर म्याक्स एचडी टीभीबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा गायकहरू सञ्जय तुम्रोक, राजु बाराकोटी, किनसराज गुरुङ र रोजी श्रेष्ठले उनका चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।
सयौं गीतमा आवाज र संगीत भरेका राईका चर्चित गीतहरू ‘चलेछ बतास सुस्तरी’, ‘यो मन भन्छ कहाँ जाऊँ’, ‘फूलै फुल्यो बैंस फुल्यो’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्छु’ र ‘आलुदम चना’ लाई कार्यक्रममा नव कलाकारले प्रस्तुत गरेका थिए । रेडियो कान्तिपुरले प्रत्येक महिनाको अन्तिम शनिबार गर्ने ‘सलाम ज्युँदो इतिहासलाई’ कार्यक्रममा यसअघि बुलु मुकारुङ, सीके रसाइली र सुनिल उप्रेतीलाई सम्मान गरिसकेको छ ।
