एउटै मञ्चमा प्रस्तुत हुँदैछन् ९० को दशकका ७ चर्चित ब्यान्ड
पोखरा — नेपथ्यको ‘छेक्यो छेक्यो देउराली डाँडा...’ होस् वा कन्दराको ‘हङकङ पोखरा...’ । मध्याह्नको ‘जिन्दगीको के भरोसा...’ देखि ब्रोसिसको ‘चाइना कम्पनी’ सम्म । देउराली ब्यान्डको ‘ढुंगेसाँघुको मेलामा...’, परिवेश ब्यान्डको ‘मुटु छुने लुम्लेको हावाले..’, डि–मर्चाको ‘झ्याम्म झ्याम्म...’ । सन् ९० को दशकमा पोखरेली पप ब्यान्डका गीत देशैभर चर्चित भयो ।
देशैभर ब्यान्ड खोल्ने लहर चल्यो । नेपाली पप संगीतको त्यही स्वर्णिम युग शनिबार पोखराले सम्झिँदै छ । पोखराबाट उदाएर स्थापित भएका ७ ब्यान्ड प्रदर्शनी केन्द्रको एउटै मञ्चमा उभिँदैछन् ।
शनिबार साँझ ‘ब्याक टू नाइन्टिज, विरासतलाई फर्केर हेर्दा’ कन्सर्टमा कन्दरा, डि–मर्चा, लेकाली, मध्याह्न, ब्रोसिस, देउराली र भ्यागाबन्ड ब्यान्डले आफ्ना पुराना गीत प्रस्तुत गर्नेछन् । पोखरा सांगीतिक कलाकार संघले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम गर्दैछ ।
९० को दशकमा पोखरेली ब्यान्डले कायम गरेको विरासत फर्काउन कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार शनिबार कन्दराका विवेक श्रेष्ठ, डि–मर्चाका भाष्करध्वज श्रेष्ठ, लेकाली ब्यान्डका नवीन गुरुङ र भाइ गुरुङ, देउराली ब्यान्डका शान्त बज्राचार्य, ब्रोसिस ब्यान्डका प्रकाश राना, मध्याह्न ब्यान्डका कर्णदास र कुमार गुरुङ, भ्यागाबन्ड ब्यान्डका श्यामसुङ तामाङ गुञ्जिने छन् ।
कार्यक्रमलाई लिएर ब्यान्डका सदस्य उत्साहित छन् । कन्दराका विवेक श्रेष्ठ नेपाली संगीतमा सारंगी, मादल, बाँसुरी, हार्मोनियम मात्रै चलिरहेको बेलामा इलेक्ट्रिक गितार र ड्रम सेटमार्फत् पप गीत भित्र्याएको स्मरण गर्छन् । मौलिक गीत संगीत सिर्जना गर्न र त्यसलाई लोकप्रिय बनाउन पोखरेली ब्यान्डको प्रमुख भूमिका रहेको उनी बताउँछन् ।
‘९० को दशक ब्यान्डहरुको स्वर्णिमकाल नै थियो । त्यही स्वर्णिमकाल फर्काउन यो कार्यक्रम कोशेढुंगा सावित हुनेछ,’ उनी भन्छन्, ‘त्यसबेला उदाएका हामी अहिले पनि निरन्तर कला र संगीतको क्षेत्रमा लागिपरेका छौं ।’
मध्याह्न ब्यान्डका कर्ण दासले ब्यान्ड छिन्नभिन्न भए पनि आफू एक्लै पनि ब्यान्डको विरासत बोकेर हिँडिरहेको बताउँछन् । ‘कलाकारिताको माध्यमबाट देश र समाजका लागि योगदान दिने प्रयास आजपर्यन्त गरिरहेका छौं । हामी बीचमा अल्मलिएका मात्रै हौं,’ उनले भने, ‘तर कलाकारिता नै छाडेर हिँडेका छैनौं । निरन्तर अहिले पनि यसैका लागि मरिमेटेर लागिरहेका छौं ।’
पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष तथा लेकाली ब्यान्डका हर्कराज गुरुङ (भाइ) र नवीन गुरुङले आफूहरु कार्यक्रममा प्रस्तुति दिन आतुर रहेको बताए । उनीहरुले भने, ‘हामी सबै हिसाबबाट तयार छौं, आशा छ हामीलाई सुन्न पोखरेली दर्शकहरु पनि आतुर हुनुहुन्छ ।’
ब्रोसिस ब्यान्डका प्रकाश रानाले ब्यान्डका अन्य सदस्य नहुँदा नयाँ सिर्जनामा कमी आए पनि आफूले संगीत सिर्जना नछाडेको बताए । ‘यो कार्यक्रमले हामीलाई उत्साह भर्नेछ,’ उनले भने, ‘नयाँ गीत सिर्जनामा लाग्न थप बल पुग्नेछ ।’
देउराली ब्यान्डका शान्तराज बज्राचार्यले नयाँ पुस्तालाई पुराना पप गीततर्फ आकर्षित गर्न पनि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘पुराना हामी अगाडि बढ्यौं भने अहिलेका नयाँ पुस्ता पनि आकर्षित हुन्छन् । त्यसका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुनेछ ।’
भ्यागाबन्ड ब्यान्डका श्यामसुङ तामाङले ब्यान्डहरुमा पुनर्जागरण ल्याउन कार्यक्रम सफल हुने बताए । ‘विरासत फर्काउने कुरा चानचुने कुरा होइन,’ उनले भने, ‘यसले पर्यटन प्रवर्द्धनमा पनि भूमिका खेल्छ ।’
ब्यान्डहरुको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले बताए । ‘९० को दशकमा पोखराका ब्यान्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,’ उनले भने, ‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गर्दा यो पहिचान विस्तारै सुस्ताउँदै गयो । तर फेरि एकपल्ट जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यही विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’
सुशुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठ बताउँछन् । उनले भने, ‘कार्यक्रममार्फत पोखरालाई रि–ब्रान्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।’
गण्डकी प्रज्ञा प्रष्ठिानका उपकुलपति गोरे गुरुङले ‘ब्याक टू नाइन्टिज’ कार्यक्रमले विश्वभर छरिएका नेपाली पप संगीतप्रेमीको ध्यान फेरि एकपल्ट पोखरातर्फ तानिने बताए ।
