राउटे महिलालाई समुदायभन्दा बाहिर बोल्न नदिइने प्रचलन रहे पनि काठमाडौंमा आयोजित एक साहित्यिक महोत्सवमा सुर्खेतदेखि दुई युवक दीपक र नवीन तथा दुई युवती जिकी र सुरमान पहिलो पटक स्टेज उक्लिए, गाए र आफ्ना कुरा सुनाए
काठमाडौँ — उच्च शिक्षा अध्ययनको सिलसिलामा बिदेसिने र उतै करिअर निर्माण गर्नेको संख्या उल्लेख्य हुन थालेपछि भविष्यमा देशले बौद्धिक क्षयीकरणको समस्या भोग्नुपर्ने विज्ञहरूको चिन्ता छ ।
बिहीबारदेखि काठमाडौंमा जारी ‘ह्वाइट हाउस लिट्रेचर फेस्टिभल’ को पहिलो दिनका सत्रहरूमा यही विषयले प्राथमिकता पायो । ‘१२ कक्षा सकेपछि विदेश जानु ठिक कि बेठिक ?’ भन्ने सवालबारे वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए ।
‘विदेश जाने सोच छ भने जानुस्, पढ्नुस्, सिक्नुस् तर नेपालमै आएर केही गर्नुस्,’ महोत्सवको उद्घाटन सत्रमा डा. भगवान कोइरालाले विद्यार्थीलाई आग्रह गर्दै थपे, ‘म कलाको क्षेत्रमा कमजोर विद्यार्थी हुँ, यसको मतलब सबै विद्यार्थी सबै विषयमा उत्कृष्ट हुँदैनन् ।’ उनले पास हुनुमात्रै सफलताको कडी नभएको भन्दै असफल हुँदैमा बिदेसिने परिपाटीमा पनि टिप्पणी गरेका थिए ।
अर्को एक सत्र ‘राजनीति : विकर्षण कि आकर्षण’ मा पनि राजनीतिक विकर्षणले कतिपय युवा विदेश पलायन भइरहेको चर्चा चल्यो । उक्त सत्रका वक्तामध्येका युवा राजनीतिज्ञ मिलन पाण्डेले भने, ‘वर्तमान राजनीतिमा विकर्षण बढेकाले युवाहरू विदेश पलायन भइरहेको तितो यथार्थ हो ।’
सोही सत्रमा युवा नेतृ रामकुमारी झाँक्रीले राजनीतिलाई शक्तिका रूपमा दुरुपयोग गर्दै ‘व्यावसायिक धन्दा’ बनाउने क्रम चलेको भन्दै टिप्पणी गरिन् । भनिन्, ‘यही भएर पनि अहिलेका युवा देशमा अनेकन सुविधा हुँदाहुँदै पनि बिदेसिन बाध्य भइरहेका छन् ।’
त्यसैगरी अर्को सत्र ‘जेन–जी जिज्ञासा’ मा पनि अहिलेको पुस्तामा विदेश मोह बढ्नुलाई चिन्ताको विषयका रूपमा लिनुपर्नेमा छलफल केन्द्रित थियो । पत्रकार सुधीर शर्माले विदेश जानु नराम्रो नभएको भन्दै फर्केर देशमै केही गर्नुपर्नेमा जोड दिए । त्यसैगरी गायिका आनी छोइङ डोल्माले पनि विद्यार्थीलाई लहैलहैमा विदेश नजान सल्लाह दिइन् । उनले भनिन्, ‘पढ्न, सिक्नका लागि विदेश जानुस् तर फर्केर आफ्नै देश बनाउनुस् ।’ फिल्म निर्देशक मीन भामले पनि अहिलेसम्म आफू एकपटक मात्रै टिकट काटेर विदेश गएको स्मरण गर्दै भने, ‘म तलब लिएर विदेशमा घुम्न जान्छु ।’
फेस्टिभलको पहिलो दिन सातवटा ‘प्यानल डिस्कसन’ भएका थिए । पहिलो सत्रमा ‘राउटे : जंगलमै जिन्दगी’ मा चार जना राउटे समुदायका युवालाई स्टेजबाट सुनिएको थियो । उनीहरूले सुर्खेतदेखि काठमाडौंसम्मको आफ्नो यात्रा संस्मरण गरेका थिए । देशभरका युवा विदेश पलायन भइरहेको अवस्थामा उनीहरूले आफ्ना लागि संघीय राजधानी काठमाडौं आउनु नै अनौठो भएको बताएका थिए । राउटे महिलालाई आफ्नो समुदायभन्दा बाहिर बोल्नसमेत नदिइने प्रचलन रहे पनि फेस्टिभलमा भने मुखियाका छोरा दीपक र नवीनसहित दुई युवती जिकी र सुरमान पहिलो पटक स्टेज उक्लिए ।
दीपक नेपाली भाषा खरर बोल्न सक्छन्, भीडभाडमा कुरा गर्न सक्छन् । उनले स्टेजबाटै निर्धक्क गाए, ‘पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै नाचौंला ।’ जिकीले पनि आफ्नै मौलिक भाषामा गीत गाएर सुनाइन् । उनीहरूलाई सहजीकरण गरिरहेका पत्रकार दीपक सापकोटाले दीपकलाई नै सोधे, ‘महिलालाई किन अहिलेसम्म मुखिया नबनाएको ?’ जवाफमा उनले भने, ‘आइमाई शरम मान्छन्, त्यही भएर ।’
उनले पुर्खादेखि आफ्नो समुदायमा यस्तो चलन पनि नरहेको बताए । फेस्टिभलकै आकर्षण रहेको उक्त सत्रमा सहजकर्ताले सुरमानलाई सोधे, ‘स्कुल जान, पढ्न मन छैन ?’ उनले सिधै भनिन्, ‘छैन, मुखियाले पठाउँदैन पनि ।’ मुखियाका छोरा दीपकले पनि स्कुल नपठाए पनि आफूहरूले ‘कखग’ पढेको र नाम लेख्न आउने बताए ।
स्टेजमा उक्लिए पनि नवीनले बोल्न सकेनन् । ‘बिरामी भएको’ भन्दै माइक समाउनै मानेनन् । यसअघि १०–१२ पटक काठमाडौं आइसकेको बताउने दीपकले पहिलेको भन्दा नेपाल सरकारले आफूहरूका लागि धेरै सुविधा बढाएकामा खुसी व्यक्त गरे । सरकारले घर बनाइदिए बस्नुहुन्छ भन्ने प्रश्नमा भने उनीहरूले ठाडै अस्वीकार गर्दै भने, ‘घरमा किन बस्ने ? हामीलाई त चक्कर लाग्छ । जंगलको नजिकै चौरमा बस्न रमाइलो लाग्छन् ।’
त्यसैगरी, उक्त फेस्टिभलमा गायिका अभया सुब्बा सर्जकले नयाँ पुस्ताको स्वाद बुझ्न नसक्दा जेन–जीले नेपाली गीत/संगीत नै सुन्न कम भइरहेको उल्लेख गरिन् । भनिन्, ‘अहिलेका पुस्तालाई संगीतमा ‘पिस’ (शान्ति) मन पर्छ, पहिले रिस मन पर्थ्यो ।’ ‘साहित्य, संगीत र अभिनय’ विषयक उक्त सत्रमा गायिका सुब्बासहित पत्रकार बसन्त बस्नेत र कलाकार विजय बरालले पनि बोलेका थिए ।
फेस्टिभलमा अभिनेत्री मनीषा कोइरालाले आफू राजनीतिक पृष्ठभूमिको परिवारकी भए पनि कला यात्रामा लाग्नुमा यसप्रतिको रुचिलाई खुलाइन् । भनिन्, ‘मलाई साहित्यिक कार्यक्रममा उपस्थित हुन र बोल्न पनि मन पर्छ । अझ नयाँ पुस्ताका विद्यार्थीमाझ यसरी आउँदा आफूलाई अझै धेरै काम गर्ने ऊर्जा आउँछ, कथाहरू सुन्ने र सुनाउने थलो भएकाले म यस्ता कार्यक्रममा पुगिरहेकी हुन्छु ।’
