जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Janakpur International Film Festival

काठमाडौँ — जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । आगामी फागुन १६ देखि १८ सम्म मधेश प्रदेशको जनकपुरधाममा यो महोत्सव आयोजना हुने आयोजक संस्था संवाद फाउन्डेसनले जनाएको छ । 

चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने भएको हो । महोत्सवमा अन्तर्राष्ट्रिय पानोरोमा, नेपाली पानोरोमा, स्टुडेन्ट पानोरोजस्ता विविध शीर्षकमा फिल्महरु प्रदर्शन हुनेछन् । महोत्सवमा हालसम्म १ सय १४ बढी देशका फिल्महरुको आवेदन परेको छ । 

अभिनेत्री रेखा थापा आफूलाई मधेशको चेलीको रुपमा परिचय गराउँदै मधेश प्रदेशमा हुन लागेको यो चलचित्र महोत्सवले सिंगो नेपाली कला, संस्कृतिको प्रतिनिधित्व गर्ने विचार राखिन् । 'कला र महिलाको जननी मिथिला हो, हाम्रो आफ्नो मौलिक संस्कृति र भाषामाथि अतिक्रमण भइरहेकोले यस किसिमका महोत्सवले कला र नेपाली चलचित्रको प्रवर्द्धनमा सघाउ पुर्‍याउनेछ,' उनले भनिन् ।

आयोजकका अनुसार अब चाँडै महोत्सवका प्रतिस्पर्धी फिल्महरुको सूची र निर्णायक सार्वजनिक गरिनेछ ।

कान्तिपुर

Link copied successfully