विराटनगर — भारत, राजस्थानको अलवर रंग महोत्सवमा नेपाली नाटक ‘त्यो फेरि फर्कला ?’ मञ्चन भएको छ । भवानी भिक्षुको यस नाटकलाई झापाको परिवर्तन थिएटरले तयार पारेको हो ।
कविता नेपालद्वारा निर्देशित नाटकले सहरीकरणको प्रभावले उजाडिँदै गएका गाउँ–बस्ती, गाउँले रहनसहन, गाउँले परिवारको संघर्ष, प्रेम, प्रतीक्षा र समाजले कोरेका सीमाहरूबीचको द्वन्द्वलाई उजागर गरेको छ । राजस्थानको रंग संस्कार थिएटर ग्रुपद्वारा आयोजित सयदिने नाट्य महोत्सवमा सोमबार यो नाटक मञ्चन भएको हो । गत डिसेम्बर १८ बाट सुरु भएको महोत्सव मार्च २७ सम्म चल्नेछ । यो अवधिमा एक सयभन्दा बढी नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।
‘त्यो फेरि फर्कला ?’ नाटकको कथा सानी (दीक्षा मरासिनी) नामकी युवतीको वरिपरि घुम्छ । जो प्रकृतिप्रेमी आमासँग गाउँमै रमाइरहेकी हुन्छिन् । एक दिन सहरबाट एक अपरिचित व्यक्ति गाउँ आउँछ । जोसँग नजानिँदो पारामा सानीको प्रेम हुन्छ । उसप्रति सानी आकर्षित हुन्छिन् । तर, भोलिपल्ट बिहान हुनुअगावै त्यो अपरिचित व्यक्ति गाउँ छोडेर जान्छ । सानीले उसलाई खोन्छिन् ।
तर, भेट्दिनन् । सानीले १८ वर्षसम्म उसको प्रतीक्षा गर्छिन् । १८ वर्षसम्म धेरै परिवर्तन भइसक्छ । सानी बुढी देखिन थाल्छिन् । उनकी आमा पनि बित्छिन् । जब १८ वर्षपछि त्यो अपरिचित व्यक्ति पुनः गाउँ आइपुग्छ अनि सानीलाई पहिलाजस्तो सुन्दर देख्दैन । अनि भन्छ, ‘अब तिमी बुढी भइसकेछौ ।’ त्यसपछि सानी रिसले चुर हुन्छिन् । अनि १८ वर्षअघि अपरिचितले छोडेर गएको मफलर फर्काउँदै भन्छिन्, ‘अब म यो प्रेमको बन्धनबाट स्वतन्त्र हुन्छु ।’
नाटकमा कविता नेपाल, दीक्षा मारासिनी, गणेश बस्नेत, लोमस पौडेल, भावना गौतम, झरना खनाल, एन्जेल निरौला, हिलारी पोर्तेल र गगन क्षेत्रीले अभिनय गरेका छन् । अस्मित आचार्यको दिएको संगीत तालमेलले नाटक झनै दमदार बनेको छ । नाटकको भावनात्मक प्रस्तुतिले राजस्थानका नाट्य पारखीलाई गहिरोसँग छोएको प्रतिक्रिया दिएका छन् ।
