काठमाडौँ — अभिनेता अरुण क्षेत्रीको पहिलो फिल्म नै हिट भयो । फिल्म ‘महापुरुष’मा मुख्य भूमिका निर्वाह गरेका अरुणको फिल्म चले पनि नाम भने खासै चलेन ।
त्यसपछि उनको प्रमुख भूमिका रहेको फिल्म ‘प्रेमा’ सार्वजनिक भयो । व्यापारिक हिसाबमा फिल्म सफल हुन सकेन । त्यसयता भूमिगतजस्तै थिए अरुण । अब भने अरुणका हातमा फिल्मैफिल्म छन् ।
गत मंगलबारबाट निर्देशक तुलसी घिमिरेले ‘पहाड’बाट लामो समयपछि फिल्म क्षेत्रमा कमब्याक गरे । यो फिल्मको मुख्य भूमिकामा अरुण छन् । आज मात्रै एक्सन थ्रिलर फिल्म ‘हन्टर’को क्यारेक्टर लुक्स सार्वजनिक भयो । ‘हन्टर’को क्यारेक्टर लुक्समा अरुण फरक अवतारमा देखिएका छन् ।
जीवन सिंहले निर्देशन गर्ने उक्त फिल्ममा अरुण प्रमुख भूमिकामा छन् । यो फिल्मका लागि निर्माण टिम छिट्टै फ्लोरमा जाने तयारीमा छ ।
सामाजिक कथावस्तु रहेको कमेडी फिल्म ‘महापुरुष’बाट डेब्यू गरेका अरुण ‘प्रेमा’मा प्रेमी अवतारमा थिए ।
अरुणले यसबीचमा एउटा ऐतिहासिक विषयमाथि बनेको फिल्म ‘विमान’मा पनि महत्वूर्ण भूमिकामा काम गरेका छन् । यो फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । अर्को एउटा प्रोजेक्टमा पनि अरुण मुख्यः भूमिकामा छन् । उक्त फिल्मको नाम र विषयवस्तु भने निर्माण टिमले गोप्य नै राखेको छ । ‘बीचमा केही कामहरू भूमिगत भएर गरियो । अब क्रमश: देखिन्छन् । नयाँ कामहरू पनि लगातार भइरहेका छन्,’ अरुणले भने ।
परिवारसँग जापान बस्दै आएका अरुण फिल्ममा संघर्ष गर्नकै लागि नेपाल फर्किएका थिए । ‘मैले आफ्नो करिअर फिल्ममै देखेको छु । त्यसकारण म यही क्षेत्रमै निरन्तर डटिरहन चाहन्छु,’ उनी भन्छन् ।
