नेपाल-चीन मित्रता झल्काउने वृत्तचित्र प्रदर्शनी

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Documentary exhibition reflecting Nepal-China friendship

काठमाडौँ — नयाँ पुस्तामाझ नेपाल-चीन मित्रताबारे जानकारी गराउने उद्देश्यले आइतबार राजधानीमा वृत्तचित्र देखाइएको छ। काठमाडौँको दरबार हाइस्कूलमा नेपाल-चीन मैत्रीपूर्ण सम्बन्ध तथा चिनियाँ सर्प वर्षको सन्दर्भ पारेर चाइना मिडिया ग्रुप सीएमजी नेपाली विभागले यस्तो वृत्तचित्र प्रदर्शन गरेको हो ।

वि.सं. २०७२ बैशाखको विनाशकारी भूकम्पपछि ध्वस्त भएको दरबार हाइस्कूललाई  चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको हो भने तिनै कक्षाकोठामा झण्डै आधा दर्जन लामा तथा छोटा वृत्तचित्र देखाइएको थियो।

सीएमजी नेपाली विभागका भाषा विशेषज्ञ लक्ष्मी लम्सालले प्रत्यक्ष अन्तर्क्रिया गरेर कार्यक्रम प्रस्तुत गर्दा गहिरो प्रभाव पर्ने बताउँदै यस्तो कार्यक्रम देशका अन्य सहरमा पनि प्रस्तुत गर्ने लक्ष्य रहेको बताए। कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल गाला झल्किने भिडियो पनि देखाइयो । चीनमा यतिखेर सर्प वर्षको बिदा चलिरहेको छ।

शिक्षक र विद्यार्थीहरूले चीनबाट ल्याइएका वृत्तचित्रहरू हेरेपछि चीनबारे थाहा नपाइएका धेरै कुरा जान्ने अवसर मिलेको प्रतिक्रिया दिए ।

चीन र नेपालका सांस्कृतिक सम्पदा झल्किने चिनियाँ बौद्धगुफा र नेपालको बौद्धनाथ, नेपाली एकसिङ्गे गैँडा र चीनको पाण्डा, चिया सभ्यता र इतिहास झल्काउने विषय वस्तुमध्ये सयौँ वर्ष अगाडिको सिल्क रोडदेखि बुद्ध ज्ञानीहरुबीचको कुराकानीमा एआई प्रविधिको प्रयोग गरिएको थियो ।

त्यस्तै नेपाल र चिनियाँ सीमामा रहेका हिमालदेखि सिचाङ (तिब्बत)मा रहेका भिक्षुहरूको जीवनशैली, सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथाहरू वृत्तचित्रहरूमा देख्न सकिन्छ ।

दरबार हाइस्कूल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यपक निश्चल अधिकारीका अनुसार भाषिक कठिनाइ हुने चीनसँगको मित्रतामा सांस्कृतिक समानता अधिक रहेको कुरा वृत्तचित्र हेरेर थाहा पाउन सकियो। उनले भने, वृत्तचित्रबाट हाम्रो उत्तरी छिमेकी पनि नेपालको सांस्कृतिक पाटोमा लगभग उस्तै रहेको देखिन्छ। चीनको विज्ञान प्रविधि र पूर्वाधार विकास त अकल्पनीय नै रहेछ।  

कार्यक्रममा प्रस्तुत नव वर्ष गालाले सबैको ध्यानाकर्षण गरेको थियो। सन् १९८० को दशकदेखि नव वर्ष गाला चिनियाँ टेलिभिजनबाट अविच्छिन्न प्रसारण हुने र चिनियाँहरुमाझ चाड पर्वको रौनक दिलाउने कार्यक्रम बनेको मानिन्छ। चिनियाँ नव वर्षको विदा हालै राष्ट्रसंघ अन्तर्गत युनेस्कोमा पनि सूचीकृत भएपछि यसप्रति विश्वचासो बढ्दो छ।

कान्तिपुर

Link copied successfully