विवादमा उदितको चुम्बन

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Udit's kiss on controversy

काठमाडौँ — गायक उदितनारायण झा यतिबेला विवादमा तानिएका छन् । मञ्चमा प्रस्तुति दिँदै गर्दा फोटो खिच्न आइपुगेकी महिला फ्यानको ओठमा चुम्बन गरिदिएको घटनाले अहिले उनी विवादमा तानिएका हुन् । 

शनिबार उदितले दुई महिला फ्यानलाई त्यसरी चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यति मात्रै होइन, अहिले उदितले यसअघि यसरी चुम्बन गरेका अन्य भिडियोहरु पनि सञ्जालमा देखिन थालेका छन् । अल्का याग्निक र श्रेया घोसाललाई यसअघि थुप्रै कार्यक्रममा चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा देखिएसँगै झाको यस किसिमको व्यवहारको आलोचना भइरहेको छ । 

अल्कालाई इन्डियन आइडलको मञ्चमा प्रस्तुति दिइरहँदा गालामा चुम्बन गरिदिएका थिए । अप्रत्यासित चुम्बनले अल्का अचम्मित बनेकी थिइन् । र, तुरुन्तै मञ्चमा उदितबाट दुरी बनाएकी थिइन् । केहि वर्षअघि उत्कृष्ट महिला गायिकाको अवार्ड जितिरहँदा मञ्चमा उदितले श्रेयालाई चुम्बन गरे । त्यतिबेला मलाइका अरोरा र उदितले उक्त अवार्ड श्रेयालाई हस्तानतरण गरेका थिए ।

अवार्ड दिँदै उदितले श्रेयालाई अंकमाल गरे, अनि चुम्बन गरिदिए । त्यतिबेला श्रेयाका लागि पनि उक्त चुम्बन आकस्मिक थियो । र, त्यतिबेला उदितको उक्त व्यवहारबाट चकित पनि थिइन् । तर, अवार्ड उचाल्दै गर्दा तत्काल उनले उक्त चुम्बनलाई पनि स्वीकारेजस्तो देखिन्थ्यो ।

अहिले उदितको यस्तै हर्कतलाई सामाजिक सञ्जालमा विरोध भइरहेको छ । उदितले यस्तो व्यवहार सुधार्नुपर्ने भन्दै धेरैले कमेन्टसमेत गरेका छन् । गायक झा भने फ्यानहरुसँग आफूले अन्तरक्रिया गर्न चाहेको र उक्त व्यवहारला बहसमा ल्याउनुपर्ने विषय नरहेको धारणा राख्छन् । 

'फ्यानहरु यति पागल हुन्छन् नि । खासमा हामी त्यस्तो हुन्नौं, शालिन नै रहन्छौं । भीडमा धेरै मानिस हुन्छन्, त्यहाँ बडिगार्ड पनि हुन्छन् । उनीहरुलाई लाग्छ, उनीहरुले अब हामीसँग भेट्न पाउनेछन् । त्यसैले त कतिले भीडबाटै हात मिलाउन खोज्छन्, कतिले चुम्बन गरिदियोस् भन्दै हात दिन्छन् । उनीहरु त पागल नै हुन्छन् नि,'हालै एक संचारमाध्यममा उदितले भने,'यो कुरा खासमा यसरी ध्यान दिइरहनुपर्ने विषय पनि होइन।'

उदितले 'कहिले तिम्रो पच्छ्यौरीमा अल्झें', 'पूरा भयो सपना मेरो',  'मखमली माया दिउँला'लगायतका चर्चित नेपाली गीतहरु गाएका छन् । 

कान्तिपुर

Link copied successfully