दिव्याको 'डेब्यु', राजबल्लभको 'सरप्राइज कमब्याक'

‘एक्टर : टेक वान’ को सबैभन्दा ‘सरप्राइज’ राजबल्लभ हुन्, धीरजंगको अहम्, क्रोध र पाखण्डी स्वभावलाई उनले परिपक्व अभिनयमार्फत पस्केका छन्

माघ १९, २०८१

रीना मोक्तान

Divya's 'Debut', Rajaballab's 'Surprise Comeback'

काठमाडौँ — फिल्म लेखक हातमा पटकथा बोकेर कुनै रेस्टुरेन्टको कौसीमा कसैलाई पर्खिरहेको छ । एकै क्षणमा एक व्यक्ति आइपुग्छ । उसको हतारो, पहिरन र बोलीचालीले प्रस्ट हुन्छ, ऊ नेपालको चर्चित फिल्म निर्देशक हो । ऊसँग न लेखकको कुरा सुन्ने फुर्सद छ, न कुनै चासो नै !

लेखक पटकथा सुनाइछाड्ने ध्याउन्नमा छ । निर्देशकलाई कथामा भन्दा पनि लेखकको कथा सुनाउने शैली (पिचिङ) तर्फ चासो छ । निर्देशकको हप्कीदप्की सुनेरै भए पनि लेखकले पटकथा खोल्छ, शीर्षकमा लेखिएको छ– ‘एक्टर : टेक वान’ !

राजन भुसाल निर्देशित ‘एक्टर: टेक वान’ माथिकै दृश्यसँगै सुरु हुन्छ, स्टार बन्न खोजिरहेको पात्र कुशल (प्रदीप) को कथामा । कुशलको कथातर्फ जानुअघि सुरुवातकै दृश्यमा फर्कौं । सुरुमा खासै चासो नदेखाएका निर्देशकलाई कथा सुनाएको केही बेरमै लेखकले आफूतर्फ तानिसकेको हुन्छ । लेखकले कथालाई यसरी सुनाउँदै जान्छ कि, निर्देशक अब कथाभित्र घुसिसकेको छ । छोटो समयका लागि लेखकसँग भेट्न आइपुगेका निर्देशक अब कथाको अन्त्य कस्तो होला ? स्टार बन्न हिँडेका पात्रको जीवनले कस्तो मोड समाउला ? भन्ने उत्सुकतासहित लेखकलाई सुनिरहन्छ । लेखकले कथालाई यति मज्जाले सुनाउँछ कि त्यो कथाले निर्देशकलाई सुरुदेखि अन्तसम्म बाँधिरहेको हुन्छ ।

विडम्बना, पर्दामा देखाएको यस दृश्यको ठिक उल्टो छ, निर्देशक भुसालको कथा वाचन । लेखकले जसरी यो दृश्यमा कथा सुनाएको छ, त्यसरी ‘एक्टर ः टेक वान’ को कथा सुनाउन भुसाल चुकेका छन् । फलस्वरूप दृश्यमा जसरी निर्देशकको ध्यान तानिन्छ, त्यसरी उनको कथा वाचनले दर्शकको ध्यान तान्दैन । फितलो पटकथा, कमसल संवाद र कमजोर प्रस्तुतिले प्रदीप अभिनीत ‘एक्टर ः टेक वान’ भने यो दृश्यको एकछेउ पनि पुग्दैन । आखिर भुसालको कथा वाचन कहाँ चुक्यो त ? 

खासमा कथा वाचनमा विश्वका सबै कथा वाचकले समाउँदै आएका तत्त्व हुन्, संघर्ष र उद्देश्य प्राप्ति । उदाहरणका लागि पात्रलाई सगरमाथा चढ्नु छ, तर पात्रको दुवै खुट्टा छैन । उक्त पात्र यति गरिब छ कि उसका लागि कृत्रिम खुट्टा खरिद गर्नु नै अर्को चुनौती छ । तर, सो पात्रले आफ्नो उद्देश्य पूरा गर्न अनेकन दुःख गर्छ र अन्तमा कृत्रिम खुट्टा हासिल गर्छ । तर खुट्टा खरिद गर्दैमा पात्रले सहजै सगरमाथा चढिहाल्छ भन्ने होइन । यसका लागि उसको यात्रामा अन्य समस्या आइपर्छन्, पात्रले झनै ठूल्ठूला समस्यासँग संघर्ष गर्दै अगाडि बढ्छ । सपना साकार हुने बिन्दुमै पुग्दा फेरि चुनौतीको अर्को पहाड चढ्नुपर्ने हुन्छ । कथा वाचनको यो तत्त्व समाउँदै लेखकले कथालाई यसरी बुनेका हुन्छन् कि ती शैलीले दर्शकको ध्यान कथामा एकाग्र हुँदै जान्छ । तर, निर्देशक भुसालले फिल्ममा कथा वाचनका यही तत्त्वलाई बुन्न भुलेका छन् । 

निम्न वर्गीय परिवारमा हुर्किएको पात्र कुशललाई जसरी पनि ठूलो पर्दाको स्टार बन्नुछ । तर, स्टार बन्नका लागि चाहिने मिहिनेत, लगनशीलता र कसरतबाट ऊ निकै पर छ । ऊसँग छ त केवल ‘ओभर कन्फिडेन्स’ । उसको त्यही ‘ओभर कन्फिडेन्स’ को दुरुपयोग गर्ने उद्देश्यले निर्देशक विवेक (दिव्यदेव) कुशललाई स्टार बनाउन उद्यत हुन्छ ।  

फिल्ममा कुशलले ‘स्टार’ बन्नका लागि कुनै संघर्ष नै गर्नु पर्दैन । जस्तै, स्टार बन्नका लागि कुशललाई विवेकले जेलबाटै केही उपाय सुझाएको हुन्छ । आफूहरूलाई फसाएका धीरजंग (राजबल्लभ) को पर्दाफास गर्न उसको छोरी प्रेरणा (दिव्या) लाई मायाजालमा पार्ने ! तर, त्यसका लागि कुशलले केही संघर्ष गर्नु पर्दैन । प्रेरणा त्यसै कुशलतर्फ आकर्षित हुँदै जान्छे । जब–जब कुशल आफ्नो उद्देश्यतर्फ अगाडि बढ्छ, उसका समस्या त्यसै त्यसै 

सुल्झिँदै जान्छन् । कुशललाई आवश्यक परेका बेलामा साथी आइपुगिदिन्छ । कथाको प्रमुख पात्रले आफ्नो उद्देश्य पूरा गर्नका लागि सबै कुरा सहजै पाउन थालेपछि के हुन्छ त ? पटकथा 

पट्यारलाग्दो बन्छ । कथाबाट दर्शकको ध्यान भड्किँदै जान्छ । फिल्मको यही कमजोरीले कुशलको कथाबाट दर्शकको ध्यान हट्दै जान्छ । सहजै अनुमान गर्न सकिने उपकथाले पनि कथा वाचनलाई कमजोर बनाइदिएको छ । 

एउटै घरमा दुई प्रेमिका रहेको कथालाई पनि रोचक शैलीमा प्रस्तुत गर्न सकिन्थ्यो । फिल्मको एक दृश्यले त ‘मनी हायस्ट’ को दृश्यलाई सम्झाइरहन्छ । फिल्मको अन्त्यतिर दर्शकमा खुल्दुली बनाउने केही प्रयास भएका छन् ।

फिल्मको दोस्रो भाग (!) का लागि त्यो प्रयास भएको हुन सक्छ । तर, फिल्मको उक्त दृश्यमा पहिलो भागकै एउटा संवादसँग मिल्न जान्छ, ‘न यता न उता’ । ‘एक्टर : टेक वान’ का यही कमजोरी सुधार्दै अगाडि बढ्ने हो भने मात्र ‘टेक टु’ को पर्खाइ सार्थक हुन सक्ला ।

फिल्मको सबैभन्दा ‘सरप्राइज’ भनेकै धीरजंगको भूमिकामा देखिएका राजबल्लभ कोइराला हुन् । एक दशकपछि पर्दामा फर्किएका कोइरालाको अभिनयले उनलाई अभिनयमा सानदार कमब्याक गराएको छ । धीरजंगको अहम, क्रोध र पाखण्डी स्वभावलाई उनले परिपक्व अभिनयमार्फत पस्केका छन् । आना शर्मा र दिव्याको अभिनयले पनि नयाँ स्वाद दिन्छ । ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता फिल्ममा अभिनयको फराकिलो दायरा देखाएका प्रदीपले भने कुशलको चरित्रमा खासै खुल्ने स्थान पाएका छैनन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully