काठमाडौँ — सामाजिक सञ्जालमा केही दिनयता एउटा तस्बिरले ध्यानाकर्षण गरिरहेको छ । फरकफरक तस्बिरहरूमा आकाशे निलो रङको गाउन पहिरिएका युवतीहरू छन् ।
उनीहरूको कपडामा रगत लत्पतिएझैँ देखिन्छ । कपाल फिँजारेर उनीहरू विभिन्न हाउभाउसहित सडकमा उभिरहेका छन् ।
टिकटक, फेसबुक तथा इन्स्टामा यो दृश्यफोटोलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन् । कोहीले यो दृश्यबाट आफूलाई डर लागेको बताएका छन् त कोहीले प्रेम व्यक्त गरिरहेका छन् । धेरैजसोले यसलाई साँच्चिकै घटनाको रुपमा पनि लिएका छन् । आखिर यो के हो त ?
आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ममी’को पोस्टरमा अभिनेत्री प्रियंका कार्की पनि यस्तै अवतारमा छिन् । यसबाट सजिलै अनुमान लगाउन सकिन्छ, ‘यो फिल्म ममीको प्रचारशैली हो ।’
फिल्मका अभिनेता सुलक्षण भारती भन्छन्, ‘फिल्मको प्रचार कसरी गर्ने भन्ने क्रममा जन्मिएको आइडिया हो यो ।’
फिल्मका पब्लिसिटी डिजाइनर नवीन न्यौपानेले यो कन्सेप्ट ल्याएका थिए । ‘सुरुमा त गर्ने कि नगर्ने भन्ने कुरा थियो । पछि प्रभावकारी देखिएपछि सबैजनाले चासो देखाउनुभयो, ’ नवीन भन्छन् ।
उनीहरूले वसन्तपुर, न्यूरोड, ठमेल, लैनचौर लगायतका ठाउँमा यो बिम्बात्मक प्रस्तुति दिए ।‘सुरुमा त कतिपयले विचरा के भएको होला भन्दै उहाँहरूको नजिक जानुभयो । कतिले प्रहरीलाई ट्याग गर्दै कसैलाई अन्याय भएको हो कि भन्दै चिन्ता व्यक्त गर्नुभयो । दोस्रो चरणमा हामीले गाउनको पछाडि ममी लेखेपछि मात्र उहाँहरूले फिल्मको अनौठो प्रचार रहेछ भन्नुभयो,’ नवीन भन्छन् ।
सुलक्षणका अनुसार यो दृश्य देखेर धेरै किसिमका प्रतिक्रिया आइरहेका छन् । ‘यसमार्फत सिम्बोलिक रुपमा महिला कसरी शारीरिक तथा मानसिक रुपमा दबिएर बसिरहेका छन् भनेर भन्न खोजेका छौँ । धेरैले यसलाई सकारात्मक रुपमा लिनुभएको छ,’ उनी भन्छन् । यो हरर फिल्मलाई समर निरौलाले निर्देशन गरेका छन् । फिल्ममा सुलक्षण र प्रियंकाको प्रमुख भूमिका रहेको छ ।
