नयाँ भर्सनमा - पारि त्यो डाँडामा...

माघ १७, २०८१

कान्तिपुर संवाददाता

In the new version - over that hill...

काठमाडौँ — कुनै बेला फिल्मभन्दा धेरै चलेको गीत हो – 'जालामा' । 'पारि त्यो डाँडामा हेर…'बोलको यो गीत यति चलेको थियो कि कतिलाई यो फिल्म (रेशम फिलिली)कै गीत हो भन्ने पनि थाहा थिएन । भूकम्पले गर्दा फिल्मले पाएको चर्चासमेत गीतले कमाउन पाएन । लगानी मात्रै उठायो । 

अब भने फेरि दर्शकले यो गीतको स्वाद नयाँ भर्सनमा सुन्न पाउने भएका छन् । 'रेशम फिलिली'को सिक्वेल 'फेरि रेशम फिलिली' बनाउँदै निर्माण टोलीले 'फेरि जालमा' पनि सार्वजनिक गरेको छ । 

आगामी महाशिवरात्रिमा प्रदर्शनमा आउने फिल्मको यो गीतमा लय उही छ, शब्दहरु फरक छन् । कालीप्रसाद बास्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानसराजले लेखेका हुन् । गीतमा काली र सोमिया बराइलीको स्वर छ । गीतको भिडियोमा फिल्मको प्रमुख अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट छन् । भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् भने गीतलाई शिवराम श्रेष्ठले खिचेका हुन् । 

निरज महर्जनको निर्देशनमा बनेको यो फिल्ममा विनय र सुपुष्पसँगै कलाकारहरु कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधानबाहेक अन्य सबै पुरानै छन् । 

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् ।

कान्तिपुर

Link copied successfully