पाताल लोक २: सिरिजभन्दा धेरै 'खलनायक' को चर्चा

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Patal Lok 2: Talk of 'villain' more than the series

काठमाडौँ — यतिबेला सिने बजारभरि हिन्दी वेब सिरिज 'पाताल लोक' को दोस्रो सिजनको चर्चा छ । तर, त्योभन्दा बढी चर्चा यतिबेला इन्डियन आइडल २००७ का विजेता प्रशान्त तामाङको भइरहेको छ ।  

पहिलो सिजनलगत्तै दोस्रो सिजनको माग हुन थालेको यस क्राइम थ्रिलर सिरिजको दोस्रो सिजनमा गायक प्रशान्त तामाङलाई पाएर दर्शकहरू सुखद आश्चर्यमा परेका छन् । सुरुमा सामान्य पात्र हुनसक्ने अनुमान गर्दै सिरिज हेर्दै गरेका दर्शकले प्रत्येक भागमा प्रशान्तले निर्वाह गरेको पात्रलाई अह्म भूमिकामा पाउँदा सुखद आश्चर्यको अनुभव गरेका छन् । 

मुख्य भूमिकामा रहेका जयदीप अह्लावादको भन्दा खलनायकी निभाइरहेका प्रशान्त तामाङको लोकप्रियता बजारमा देखिइरहेको छ । सिरिजको अघिल्लो सिजनमा अभिषेक ब्यानर्जीले निभाएको हथोडा त्यागीलाई भुल्न नसकिरहेका दर्शकहरूले दोस्रो सिजनमा प्रशान्तको पात्र ड्यानियल लिचोप्रति उत्तिकै प्रेम दर्शाइरहेका छन् । उनले खेलेको पात्र स्पिनर ऊर्फ ड्यानियल लिचोका सिनहरूलाई दर्शकहरूले सामाजिक सञ्जालमा राम्रैसँग फैलाइरहेका छन् । 

जनवरी १७ मा ओटिटी प्ल्याटफर्म अमेजन प्राइममा रिलिज भएको यो सिरिजलाई अनुश्का शर्माले निर्माण गरेकी हुन् । यसअघि गोरखा पल्टन, परदेशी लगायत ६ वटा नेपाली फिल्ममा देखिएका प्रशान्त तामाङलाई ठूलो ब्यानरको लोकप्रिय सिरिजमा महत्त्वपूर्ण भूमिका मिल्दा इन्डियन आइडलदेखि नै उनलाई पछ्याउँदै आएका दर्शकहरू उत्साहित देखिन्छन् । 

यो सिरिजपछि प्रशान्तलाई भारतीय ठूला ब्यानरहरूमा सजिलै कामहरू मिल्ने अनुमान गर्न सकिन्छ।

कान्तिपुर संवाददाता

Link copied successfully