काठमाडौँ — कलाकार सीताराम कट्टेल टेलिशृङ्खला ‘मेरी बास्सै’बाट ‘धुर्मुस’ पात्रका रुपमा चर्चित भए । प्राय: फिल्म तथा महोत्सवहरूमा पनि उनी ‘धुर्मुस’कै गेटअपमा बढी देखिन्छन् । उनै सीताराम यतिबेला नयाँ फिल्मको पोस्टरमा फरक अवतारमा देखिएका छन् ।
कुमार कट्टेल निर्देशित फिल्म ‘लाज् शरणम्’मा उनी फरक अवतारमा देखिएका हुन् । पोस्टरमा गेटअप हेर्दा लाग्छ– उनी नेताको भूमिका निर्वाह गर्दैछन् ।
झट्ट हेर्दा पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलम जस्ता पनि देखिन्छन् । यो फिल्ममार्फत धुर्मुस पुन: कलाकारितामा सक्रिय समेत भएका छन् । उनीसँगै कलाकार मुकुन्द श्रेष्ठः पनि लामो समयपछि पर्दामा फर्किएका छन् ।
प्राय: फिल्महरूमा मुकुन्दले खलनायक चरित्र निर्वाह गरेका छन् । फिल्ममा पछिल्लो समयका चर्चित अभिनेता विजय बरालदेखि लिएर अर्पण थापासम्म देख्न सकिन्छ । फिल्ममा अभिनेता महेश त्रिपाठी पनि महत्वपूर्ण भूमिकामा रहेको पोस्टरबाट ठम्याउन सकिन्छ ।
महेश फिल्म ‘हल्कारा’बाट अन्तर्राष्ट्रिय ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जित्ने कलाकार हुन् ।
फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, रेणु योगी, हरिष निरौला, प्रियाना आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुँदैछ ।
