यावत् चिन्ता र गुनासा रहे पनि सुलक्षण भारतीलाई फिल्म गर्नु छ । चाहे त्यो अभिनेता भएर होस् वा लेखक/निर्देशक । भन्छन्, ‘राम्रा फिल्मको प्रतीक्षा गरिरहेको छु ।’
काठमाडौँ — क्सीको घर’, ‘बाटो’ र ‘ममी’– कथावस्तु फरक भए पनि तीनै फिल्ममा एउटा समानता छ– त्रास । ‘गथिक’ तत्त्व तीनै फिल्मका बलिया पक्ष हुन् । प्रदर्शनको छेकोमा रहेको समर निरौला निर्देशित फिल्म ‘ममी’ को मंगलबार मात्रै ट्रेलर सार्वजनिक भयो । ट्रेलरमा पात्रहरू कुनै अदृश्य शक्तिको त्रासमा रुमल्लिएका छन् । मदन थापा निर्देशित ‘बाटो’ पनि यात्रामा जोडिने त्राससँग सम्बन्धित छ ।
‘बोक्सीको घर’ मा समाजको रूढिवादी प्रथाविरुद्धको कथावाचन डार्क र भयजडित छ । यी तीनै फिल्मको कनेक्सन पात्र हुन्– सुलक्षण भारती । सुलक्षण ‘बोक्सीको घर’ का निर्देशक हुन् । अनि ‘बाटो’ र ‘ममी’ का अभिनेता । एकै वर्ष उस्तै प्रकृतिका फिल्म खेल्नु सुलक्षणका लागि रुचि थियो कि संयोग ?
उनको ठम्याइ छ, ‘यो त भवितव्य हो ।’ ‘हरर’ वा ‘डार्क’ फिल्ममा काम गर्ने उनको रहर हैन । रुचि त पात्र र कथामा हो । ‘त्यसमा पनि म फरक–फरक चरित्रमा काम गर्न मन पराउँछु । पात्रहरूको विविधता मेरो रहर हो,’ उनी भन्छन् ।
यही वर्ष सुलक्षणका हकमा अर्को संयोग पनि जुर्यो । ‘बोक्सीको घर’ बाट उनले डेब्यु निर्देशकको बलियो परिचय बनाए । साथै, एउटा डेब्यु निर्देशकले अभिनेताका रूपमा पनि डेब्यु निर्देशक नै रोजे । यसपालि मदनले ‘बाटो’ र समरले ‘ममी’ बाट फिल्म जगत्मा पदार्पण गरे । निर्देशकका रूपमा हिँडेका अप्ठ्यारा बाटाहरूबारे उनीहरूलाई सेयर गरे । ‘आफूलाई जस्तो अप्ठ्यारो नहोस् भन्ने हेतुले,’ उनी सुनाउँछन् ।
उनलाई काम पनि पुरानाभन्दा नयाँसँगै गर्नु छ । ‘नयाँहरू अपडेटेड हुन्छन्, पारदर्शी हुन्छन् अनि ऊर्जाशील पनि,’ कारणबारे उनी भन्छन्, ‘मैले पनि धेरै कुरा सिक्न सक्छु उनीहरूबाट ।’ तर नयाँबाट पाउने त्यही कुरा उनी पुराना मेकरबाट पाउन्नन् । ‘पुरानालाई त फेस भ्यालु चाहिन्छ । नयाँलाई काम गर्ने मान्छे,’ उनी तुलना गर्छन् ।
त्यसकारण पनि सुलक्षण नयाँ पुस्ताका विलक्षण निर्देशकहरूको खोजी गरिरहन्छन् । ‘भलै फिल्म नचले पनि मदनले बाटोमा प्रमाणित गरे । समरले ममीबाट गर्दै छन्,’ उनी भन्छन् ।
‘ममी’ को प्रस्तावसँगै सुलक्षणलाई ठूलो ब्यानरको कमर्सियल फिल्मबाट प्रस्ताव आएको थियो । पारिश्रमिक पनि ‘ममी’ भन्दा चार गुणा बढी । उनले मोटो पारिश्रमिकको लोभ गरेनन् । बरु लोभ कथा र पात्रमा गरे । अनि रोजे ‘ममी’ । ‘ममीको पात्र एकदम जटिल मनोविज्ञानबाट गुज्रिरहेको थियो । यस्तो पात्र पहिलो पटक भेटें । अनि फिल्म छानें,’ सुलक्षण भन्छन् ।
बाँच्नका लागि पैसा त चाहिन्छ । तर पैसाकै लागि कलामा सम्झौता नगर्ने प्रण सुलक्षणको छ । उनलाई लाग्छ, ‘पैसा त आउला । तर राम्रा काम र प्रस्तावहरू बारबार आउन्नन् ।’ सम्भावना बोकेका नयाँ मेकरलाई सहयोग गर्नु पनि दायित्व सम्झन्छन् उनी । ‘त्यसैले ममीमा मैले वर्किङ रकमभन्दा बढी लिइनँ । कथा मन परेर सहयोग गरें,’ उनी भन्छन् ।
सुलक्षणले निर्वाह गरेको ‘ममी’ को पात्रलाई चियाएर हेर्नुपर्छ । ‘यो पात्र समाजमा लुकेर बसेको छ,’ उनी सुनाउँछन्, ‘त्यो पात्र खुलेर अगाडि आउँदैन । उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ ।’ त्यो पात्रको जीवन बाँच्न पाउँदा आएको आनन्द पनि उनी सेयर गर्छन् । पात्रमा सिञ्चित गरेका ती क्षण सम्झँदै भन्छन्, ‘मेरा लागि बेग्लै अनुभूति रह्यो ।’
फरक र नयाँ काम गर्ने निर्देशकहरूसँग हुटहुटी हुन्छ । सँगै चुनौतीको चाङ पनि । ‘बोक्सीको घर’ कै अनुभवलाई लिएर उनी भन्छन्, ‘निर्देशकका रूपमा गरेको परिकल्पना पर्दामा उतार्न गाह्रो छ । यसमा बजेटले अर्थ राख्ने रहेछ ।’ कलाकारका रूपमा देखेको चुनौतीचाहिँ फरक छ । किनकि आइरहेका कथाहरू नयाँ हुन्नन् । दोहोरिने चरित्रमा त काम गर्दा पनि सन्तुष्ट मिल्दैन ।
अहिले सुलक्षणले खेपिरहेको चुनौती नै काम हो । ‘मलाई अरू कलाकारलाई जस्तो धेरै फिल्मको अफर आउँदैन । आएका मध्येबाट पनि छनोट गर्नुपर्दा अप्ठ्यारो छ,’ उनी भन्छन् । उनले अभिनय गरेको फिल्म आउँदा धेरै निर्देशक/निर्माताले फोन गरेर बधाई दिए तर काम दिएनन् । उनको गुनासो पनि त्यही छ । ‘बधाई र तारिफ दिनेहरूले कामचाहिँ किन दिएनन् ?’ उनको प्रश्न छ । राम्रा कामहरूको प्रतीक्षा गरिरहँदा आफ्नो हातसम्म नआइपुग्दा दिक्क छन् उनी । त्यतिबेला लाग्नेरहेछ, ‘काम जानेरभन्दा पनि मान्छे चिनेर अफर आउँछ ।’
अभिनेताका रूपमा मात्र हैन, बक्स अफिसमा आफ्नो फिल्म हिट भएपछि पनि कुनै राम्रा फिल्मका लागि प्रस्ताव नआएकामा उनी चकित छन् । कोही आफ्नै डिभोर्सको कथा बोकेर आउँछन् । भन्छन्, ‘यसमा फिल्म गर्नुपर्यो ।’ कोही ‘बोक्सीको घर’ जस्तै फिल्म बनाउनुपर्यो भन्दै आउँछन् । कोही मोटो रकम देखाएर विदेश बोलाउँछन् । जो–जो आउँछन्, फिल्मलाई गम्भीर नलिनेहरू आउँछन् । गम्भीर निर्माताहरू उनीसम्म आइपुग्दैनन् । ‘१४ वटा स्क्रिप्ट छ म आफैंसँग । त्यो पनि फरक विधाका । कथा खोज्दै कोही आइपुग्दैनन्,’ उनी भन्छन् ।
झन्डै डेढ दशक ‘बन्द कोठा’ मा बिताएका सुलक्षणका लागि फिल्म जगत् नयाँ पनि हो । १४ वर्षको उमेरदेखि नाटक गर्न थालेका उनीसँग उबेलैदेखि अभिनयको भोक थियो । त्यो भोक मोडलिङ हुँदै थिएटरमा पुग्यो । आफूले खडा गरेको ‘पुरानो घर’ का आला कथाहरू थुप्रै छन् । १७ वर्ष बिताएको रंगमञ्चमा उनले दुई दर्जन बढी नाटक निर्देशन गरे । दर्जनौं अभिनय गरे । १५ वटा त नाटक लेखे नै । अहिले आफूले लेखेका ती नाटकहरूको आयु सम्झेर पनि चिन्ता लाग्छ उनलाई । ‘यी यसै हराएर पो जान्छन् कि । नयाँ पुस्ताका दस्ताबेज यी नाटक आफ्नो आयुभन्दा बढी पो बाँच्दैनन् कि,’ उनी सोचमग्न हुन्छन् ।
बल्लतल्ल पैसा जुटाएर नाटक गर्नु तर कमाएको पैसा हल भाडा र कलाकारको पारिश्रमिकमै सकिनु । ती ऋणहरूको बक्यौताका बेग्लै व्यथा छन् । यद्यपि नाटकहरू नै नबाँच्लान् कि भन्ने चिन्ता छ उनलाई । पहिला–पहिला त नाटक पुस्तक भएर निस्कन्थे । अहिले त निजी प्रकाशनले त्यो जोखिम मोल्न चाहन्नन् । ‘प्रज्ञा प्रतिष्ठानले छाप्न पार्टीको झन्डा बोक्नुपर्यो । तर मैले अहिलेसम्म गरेको छैन,’ सुलक्षण भन्छन् ।
यावत् चिन्ता र गुनासा रहे पनि सुलक्षणलाई फिल्म गर्नु छ । चाहे त्यो अभिनेता भएर होस् वा लेखक/निर्देशक । भन्छन्, ‘अहिले म राम्रा फिल्मको प्रतीक्षा गरिरहेको छु ।’
