नेपाली फिल्म क्षेत्रले मधेशलाई सधैं उपेक्षा गर्दै आइरहेको देखिन्छ । मधेशका मुद्दा बिरलै उठाइन्छन् । मधेशी कथामा फिल्म बन्न कि त त्यही पृष्ठभूमिका दीपक रौनियार नै तम्सनुपर्छ वा गौचनजस्ता एकाध चेतनशील निर्देशकले दुस्साहस गर्नुपर्छ । नत्र बजारको लहैलहैमा फिल्म बनाउनेका लागि यस्ता गहन सामाजिक विषय ‘बिकाउ’ लाग्दैनन् ।
काठमाडौँ — एकातिर पहाडे युवती सीता (जेसी), अर्कोतिर मधेश पुत्र राम (र्याम्बो) । एउटा हास्यास्पद विषयले यी दुई पात्र राम, सीतालाई जोड्छ । समय, परिस्थिति यस्तो भइदिन्छ कि सीतासँगको एक भेटलगत्तै उसले सीतालाई अपहरण गरेर जनकपुर पुर्याउँछ ।
दीपेन्द्र गौचन निर्देशित फिल्म ‘केटी हराएको सूचना’ यिनै पहाडे र मधेशी पात्रबीचको सुन्दर प्रेमकथा हो । यी दुईको प्रेमकथामार्फत निर्देशक गौचनले मधेशको सौन्दर्य, मधेश आन्दोलन र त्यसको असर देखाएका छन् ।
लामो समय नेपाली फिल्म क्षेत्रबाट ओझेल परेका गौचन यही फिल्ममार्फत निर्देशनमा फर्किएका छन् । फिल्मको शीर्षकझैं, निर्देशक गौचन २२ वर्षदेखि फिल्म क्षेत्रबाट ‘मिसिङ’ थिए । तर, फिल्ममार्फत उठाइएको मुद्दा, सरल कथा र सुन्दर वाचनले उनको ‘कमब्याक’ सशक्त बनाएको छ । फिल्मले डकु–ड्रामा ‘उजेली’ को ‘क्लासिकल’ स्वाद त पस्कँदैन तर आधुनिक राम र सीताको प्रेममार्फत संघीयताका लागि चर्किएको मधेश आन्दोलन, जलेको मधेश र त्यसले पहाडे र मधेशी सम्बन्धमा ल्याइदिएको फाटो प्रस्तुत गर्छ । राज्य र सरकारद्वारा दोस्रो दर्जाका बनाइएका मधेशीहरूले नेपाली नागरिक बन्नकै लागि गरिएको संघर्षलाई प्रेमकथाको पृष्ठभूमिमा कथा भन्न सक्नु ‘केटी हराएको सूचना’ को सबल पक्ष हो । फिल्ममा कमजोरी छैनन् भन्ने होइन तर सुरुमा सकारात्मक पाटो हेरौं ।
नेपाली फिल्म क्षेत्रले मधेशलाई सधैं उपेक्षा गर्दै आइरहेको देखिन्छ । नेपाली फिल्ममा बिरलै मधेशका मुद्दा भेटिन्छन् । मधेशी कथामा फिल्म बन्न कि त त्यही पृष्ठभूमिका दीपक रौनियार नै तम्सनुपर्ने वा गौचनजस्ता एकाध चेतनशील निर्देशकले दुस्साहस गर्नुपर्ने अवस्था छ । बजारको लहैलहैमा फिल्म बनाउनेहरूका लागि यस्ता विषय ‘बिकाउ’ लाग्दैनन् । कुनै बेला काठमाडौं आउन पनि नागरिकता देखाउनुपर्ने यी नेपाली नागरिकका दुर्दशामाथि कसले फिल्म बनाइदेओस् ? छिटपुट रूपमा मुद्दा उठाइए पनि विषयवस्तुप्रतिको संवेदनशीलता कम भेटिन्छन् । बरु तिनै मधेशीलाई हाँसोको पात्र, अपहेलित र कमजोर रूपमा रंगभेदी ‘स्टेरियोटाइप’ चरित्र चित्रण गरी सानो पर्दादेखि ठूलो पर्दाका सर्जक रमाइरहेका छन् । तर, निर्देशक गौचनले यसो गरेनन् ।
फिल्ममा राम पात्र बिल्कुलै फरक छ । चिल्लो गाडी हुँक्याउँछ, प्रस्ट नेपाली लवजमा बोल्न सक्छ । आफ्नो मैथिली लवज पनि बिर्सेका हुँदैनन् । स्वभावले यो पात्र कोमल छ तर बोल्नुपर्ने विषयमा हाक्काहाक्की आवाज उठाउँछ । यो पात्र कतै पनि ‘बिचरो’ लाग्दैन । आईटी इन्जिनियर उसले आफ्नो समुदायको पीडा र दुखाइलाई महसुस गरेको छ । नश्लीय सोच, रंगभेद र जातिवादजस्ता विभेदविरुद्ध ऊ खरो उत्रने र प्रश्न उठाउन सक्ने निडर पात्र हो ।
फिल्मको एउटा दृश्यमा मधेश घुम्दै गरेकी सीताले रंगकै आधारमा हुने विभेद प्रस्तुत गर्छे । नेपाली भर्सनको ‘फास्ट एन्ड फ्युरियस’ बनाउँदा त्यसमा भएको कालो रंगको युवकको भूमिकामा राम सुहाउने धारणा राख्छे । तर, तुरुन्तै रामले रंगभेदको प्रतिवाद गर्छ । अहिलेको युवा पुस्तामा गढेर बसेको रंगभेदको प्रतिनिधित्व हो यो दृश्य र पात्र सीता । ‘हाम्रो घरमा फलफूल बेच्न आउनुहुन्थ्यो एक जना भैया,’ सीताले भन्छे । मधेशका दाजुभाइलाई अपहेलना गर्दै पहाडेले बोलाउने ‘भैया’ शब्द कसरी युवा पुस्ताको जिब्रो/मस्तिष्कमा हुर्कियो भन्ने मिहिन लाग्ने तर गम्भीर मुद्दामाथि निर्धक्कले बोल्छ, राम । ‘हामी तराईंमा बस्ने नेपालीलाई पनि इन्डियन नै सोच्छौ होइन तिमी ?’ रामले सीतालाई प्रश्न गर्छ ।
मधेशसँग जोडिएको अर्को विषयमाथि पनि सीताले आफ्नो विचार राखेकी हुन्छे । चुनावको समयमा सीमापारिका भारतीयलाई पनि नेपाली बनाउँदै भोट दिने गरिएको अफवाहमार्फत घुमाउरो शैलीमा मधेशीलाई भारतीयसँग जोड्ने मानसिकता प्रकट गर्छे । ‘तिमी जति नेपाली हौ, म पनि त्यति नै नेपाली हुँ,’ आधुनिक सीताको रुढिवादी विचारमाथि प्रश्नचिह्न खडा गर्दै रामले दिने जवाफ नै फिल्मको पेटबोली पनि हो । राज्यद्वारा गरिएको विभेदविरुद्ध आवाज उठाउँदा मधेश आन्दोलन भयो । थुप्रैको मधेशी, पहाडीबीचको लडाइँ, उनीहरूका जलेका घाउ, बगेको आलो रगतले देशमा संघीयता आयो । तर, संघीयतापछि झनै चिसिँदै गएको पहाडे र मधेशी सम्बन्ध, रंगभेद र नश्लीय सोचमाथि फिल्मले व्यंग्य गर्छ । राज्य, सरकार र सरोकारवालाहरूलाई यस्ता गम्भीर मुद्दामाथि घोत्लिन बाध्य पार्छ । फिल्मले पहाडे र मधेशीबीचको प्रेमकथा देखाउँदै मधेशीको मन किन अमिलो भयो र उनीहरूका घर किन जलाइए भन्ने सवालसँगै मधेश आन्दोलनको उपलब्धि र प्रभावमाथि सोच्नमग्न बनाउँछ । मधेश आन्दोलनपछि पहाडे र मधेशीबीच चिसिएको सम्बन्ध न्यानो बन्यो त ? संघीयतालाई राज्यले कसरी बुझ्यो ? मधेशीहरूले नागरिकको पहिचान पाए त ? दुई युवाको प्रेमकथामार्फत यी मुद्दामाथि प्रश्न छेड्नु नै निर्देशक गौचनको सफलता हो ।
फिल्मको कथालाई निर्देशकले यति सरल शैलीमा बगाएका छन् कि दर्शक फिल्ममा बाँधिरहन्छन् । पात्रहरूको स्थापना, घट्दै जाने घटना/परिघटना र सरल कथ्य शैलीे शिल्पले फिल्मबाट दर्शकको ध्यान अन्त हट्दैन । सुरुदेखि नै फिल्ममा एकपछि अर्को गरी घटना घट्दै जान्छ । ‘ट्विस्ट एन्ट टर्न’ पनि सहजै अनुमान गर्न सकिने किसिमका छैनन् । सुन्दर फ्रेम र प्रकाशको संयोजनले दृश्यहरू आँखा नबिझाउने किसिमका छन् । यो फिल्ममा मधेशको सौन्दर्य कैद गरिएको छ । अस्ताउँदै गरेको सूर्य, सुन्दर फाँट, तराईको मेला र जाल हान्दै गरेको पोखरीका दृश्यहरूमा मधेशलाई बिछट्टै सुन्दर प्रस्तुत गरिएको छ । मधेशको धूलो, गर्मी अनि मिथिला चित्रकला र महिला कलाकारलाई पनि सुन्दर फ्रेमहरूमा प्रस्तुत गरेका छन् । यो फिल्म वास्तविक अर्थमा आधुनिक सीताको आँखाबाट हेरिएको सुन्दर मधेश हो । रामले देखाउन खोजेको मधेश पनि हो ।
महिलाको चरित्र चित्रणकै सवालमा पनि ‘केटी हराएको सूचना’ पृथक् लाग्छ । यो फिल्मकी सीता रामायणकी सीताजस्तो अबला र कमजोर छैन । बरू निर्धक्क स्वतन्त्र जीवन बाँच्न खोज्छे । आफ्ना समस्यासँग आफैं सामना गर्छे । आफ्नो निर्णय आफैं लिन सक्छे ।
फिल्म ‘मिसिङ’ (अंग्रेजी नाम) को कथामा केही तत्त्वहरू भने ‘मिसिङ’ छन् । कथा भन्दै जाँदा निर्देशकले सुरुवातमा महत्त्वपुर्ण भूमिका दिएका पात्र अन्तिमसम्म कतै देखिन्नन् । विलास चरित्रको स्थापनामा जसरी ध्यान दिइएको थियो, अवतरणमा खासै ध्यान दिइएको छैन । यो पात्र ह्वात्तै देखिन्छन् अनि हठात् हराउँछन् । तर, यो चरित्रलाई अन्तिम समयसम्म कथा वाचनमा प्रस्तुत गरिएको भए कथा झनै मजबुत बन्न सक्थ्यो । फिल्मको ‘क्लाइमेक्स’ निकै फितलो लाग्छ । जुन सरल शैलीमा कथा बगिरहेको थियो, त्यो गतिलाई ‘क्लाइमेक्स’ ले बल दिँदैन । जेलवाला दृश्य जबर्जस्ती तन्काइएको महसुस हुन्छ । फिल्मको ‘टाइम फ्रेम’ अनुसार, ३ महिनाअघिकै कथामा फिल्मलाई समापन गरिएको भए, कथा वाचनले न्याय पाउने थियो कि ?
कथालाई सुखान्त बनाउने चक्करमा ‘क्लाइमेक्स’ पट्यारलाग्दो बनेको छ । फिल्ममा केही दृश्यहरू निकै लम्बेतान लाग्छन् । अधिकांश लामा दृश्यहरूमा सम्पादकले आफ्नो सिर्जनशीलता देखाउने ठाउँहरू थुप्रै छाडेका छन् । जुन कमजोरीले गर्दा पटकथालाई कसिलो बनाउने सामर्थ्य गुमाएको छ । फिल्मको पार्श्व संगीत/ध्वनिमा बेजोडको काम भएको छ । जब–जब पात्रहरू मधेशमा भिज्दै जान्छन्, त्यसैअनुरूपको पार्श्व ध्वनि गुन्जन्छ । अभिनयमा अब्बल नाजिरले केही दृश्यमा निकै मीठो प्रस्तुति दिएका छन् । संवाद र संवेग प्रस्तुतिमा सृष्टिले भाँती पुर्याएको भए सीता चरित्रमा उनी झनै दमदार देखिने थिइन् । तर त्यसो भएको देखिँदैन ।
