‘पुष्पा २’ पछि के ल्याउँदैछन् सुकुमार ? 

माघ ९, २०८१

एजेन्सी

What is Sukumar bringing after 'Pushpa 2'?

मुम्बई — सुकुमार ! जसको फिल्म ‘पुष्पा: द रुल’ डिसेम्बर ५ मा रिलिज भई आज जनवरी २२ सम्म पनि प्रदर्शनरत । भलै, दर्शकले यो फिल्म ‘पुष्पा १’ जति भने रुचाएनन् । यद्यपि, यस अवधिमा कति फिल्म हलमा लाग्ने र उत्रने क्रम चलिरहँदा सुकुमारको ‘पुष्पा २’ को रुल भने डगमगाएको छैन ।

‘पुष्पा’को यो क्रेजबीच सिनेबजारमा उनका आगामी फिल्महरूप्रति पनि चासो बढिरहेको छ । निर्देशक सुकुमार ‘पुष्पा २’ पछि कुन फिल्म ल्याउने तयारीमा छन् त ? १९७० जनवरी ११ मा बान्डरेड्डी सुकुमारको रूपमा जन्मिएका उनको नाम मात्रै पनि आफैँमा एउटा ब्राण्ड बनिसकेको छ ।

फिल्मका माध्यमबाट मल्टिलेयर्ड स्टोरिटेलिङ गर्न रुचाउने उनी फिल्म क्षेत्रमा आउनुअघि काकिनाडास्थित जुनियर कलेजमा गणित र भौतिकशास्त्र पढाउने गर्थे । शिक्षक हुँदाहुँदै कथा लेखनमा रुचि राख्ने सुकुमारले फिल्मी दुनियाँमा पनि लेखनबाटै पाइला राखे । 

निर्देशकका रूपमा भने उनले सन् २००६ मा ‘आर्या’ मार्फत डेब्यु गरे। जुन फिल्मले उनलाई तेलेगुतर्फ उत्कृष्ट निर्देशकको फिल्म फेयर अवार्डसमेत दिलायो । आफ्ना फिल्मका प्रमुख पात्रलाई ‘ग्रे सेड’ र जटिल मनोविज्ञान दिएर चित्रण गर्न रुचाउने सुकुमार भारतीय सिने उद्योगकै सर्वाधिक महँगा निर्देशकमध्येका एक हुन् ।

‘आर्या’ पछि २००९ को ‘आर्या २’, २०११ को ‘लव’, २०१४ को ’१: नेनोक्कदिन’, २०१६ को ‘नन्नकु प्रेमाथो’, २०१८ को ‘रंगस्थलान’, २०२१को ‘पुष्पा’जस्ता फिल्महरूले उनलाई सिनेमा उद्योगमा स्थापित गराउन सफल भए । २०१८ को ‘रंगस्थालन’ त तेलुगु फिल्म उद्योगमा ‘बाहुबली’ फिल्महरूपछाडि सर्वाधिक कमाउने फिल्मको सूचीमा गनिन्छ । 

ब्लकबस्टर ‘रंगस्थालान’पछि रामाचरणलाई नै मुख्य भूमिकामा लिएर उनको नयाँ तेलेगु फिल्म  ‘आर.सी. १७’ आउने भएको छ । सन् २०२५ को अगस्टलाई लक्ष्य गरेर उनी ‘आर.सी. १७’को तयारीमा छन् । यसबाहेक उनी अर्को एउटा तमिल फिल्ममा पनि काम गर्दैछन् ।

निनु कार्थिकलाई मुख्य भूमिकामा लिइएको ‘मेधुवा मेधुवा थोडलमा’ नामको फिल्म भने सन् २०२६ को नोभेम्बर १२ मा रिलिज गर्ने तयारी छ । यीबाहेक उनको लेखन र कार्थिक वर्माको निर्देशनमा बनिरहेको तेलेगु सिनेमा ‘एन.सी. २४’लाई पनि २०२५ को मे १२ मा प्रदर्शन गर्ने गरी तयारी भइरहेको छ ।

एजेन्सी

Link copied successfully