अर्जुनको 'पुष्पा: द रुल' झण्डै २ महिनादेखि प्रदर्शनरत छ ।
मुम्बई — दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन सर्वाधिक व्यस्त हुने अभिनेतामध्ये एक हुन् । सन् २०२१ को 'पुष्पा: द राइज' पछि दर्शकहरूका फेभरेट एक्सन हिरो बन्न सफल अर्जुनको 'पुष्पा: द रुल' झण्डै २ महिनादेखि प्रदर्शनरत छ ।
सन् २००३ मा के राघवेन्द्र रावको 'गंगोत्री'मार्फत फिल्ममा डेब्यु गरेका उनलाई 'पुष्पा'कै निर्देशक (बान्डरेड्डी) सुकुमारको डेब्यु निर्देशन 'आर्या' ले दक्षिण भारतीय सिनेमामा एउटा उचाइ दिलायो । आर्याको सफलतापछि सुकुमारकै 'आर्या २' मा पनि अर्जुन मुख्य भूमिकामा देखिए । त्यसो त, त्रिविक्रम श्रीनिवासको 'जुलायी', सुरेन्दर रेड्डीको 'रेस गुर्रम', बोयापती श्रीनुको 'सर्राइनोडु'ले पनि उनलाई तेलेगु सिनेमाको स्टार बनायो ।
यीनै साउथ स्टार अर्जुनको पुष्पा सिरिजकै तेस्रो फिल्मको पनि घोषणा भइसकेको छ । सन् २०२६ मा रश्मिका मन्दानासँगै आफू 'पुष्पा: द र्याम्पेज' मा देखिने बताउँदै उनले सार्वजनिक प्रेस मिटमा भनेका छन्, 'अब रुकेगा नहीं साला !'
पुष्पाबाहेक अल्लु अर्जुनका अरू चार फिल्म लाइनमा छन् । निर्देशक वेनु श्रीरामको 'आइकन'मा २०२५ मा उनी कृति सनोनसँग देखिँदैछन् । कृतिसँगै कोराताला सिवाको 'एए २१' मा पनि उनी देखिने भएका छन् । यस्तै, त्रिविक्रम श्रीनिवासको 'एए २२' र सन्दीप रेड्डी भांगाको 'एए २३' मा पनि उनी मुख्य भूमिकामा रहने भएका छन् ।
