काठमाडौँ — तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्ध स्थित तारागाउँ नेक्स्टमा बृहत् कला प्रदर्शनी गर्दैछ । माघ १२ देखि सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दशजना महिला कलाकारहरुले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् ।
अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने 'फेमिनिस्ट फ्युचर्स: आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड'शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्नेछ । दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीति जस्ता विषयसमेत समेट्ने जनाइएको छ ।
प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलंका, पाकिस्तान र बंगलादेशका १/१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ । आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन पनि सहभागि हुनेछन् । नेपालका अश्मिना रञ्जित, बिधाता केसी र उमा बिष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादैंशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा राखिनेछन् ।
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफले बताइन् ।
