काठमाडौँ — रंगप्रेमीहरूका लागि सहरमा नयाँ नाटक मञ्चित छन् । अहिले बानेश्वरको मण्डला थिएटरमा 'मुक्कुम्मुङ' र ललितपुरको महालक्ष्मीस्थानमा 'द स्ट्रंगर' मञ्चनरत छन् । दुई नाटकले फरक विधामा फरक मुद्दा उठाएका छन् ।
माघ ४ देखि मञ्चनमा आएको 'मुक्कुम्मुङ: चोत्लुङ अफ याक्थुङ'ले संस्कृतिमाथिको अतिक्रमणको विषय उठाएको छ । यो नाटकमा पाथीभरामा निर्माण गरिने भनिएको केबुल कार, उक्त मुद्दामा स्थानीयवासीले गरिरहेको प्रतिरोध लगायतका रैथाने मुद्दा उठाइएको छ । अनिल सुब्बा निर्देशित नाटक माघ २७ सम्म मञ्चन हुनेछ । यो नाटकलाई निर्देशक सुब्बा, गीलु रातोस र विष्णु मोक्तानले संयुक्त रूपमा लेखेका हुन् ।
जेनी सुनुवार निर्देशित नाटक 'द स्टंग्रर' भने माघ १२ सम्म मञ्चनमा आउनेछ । पुस २६ देखि प्रदर्शनमा आएको यो नाटकमा महिला मुद्दा, महिला हिंसा र शसक्तिकरणका विभिन्न सवालहरू उठाइएका छन् । 'एब्सर्ड'शैलीको यो नाटकमा संवाद र सङ्गीतको अति कम प्रयोग गर्दै शारीरिक हाउभाउद्वारा नै विषय उठाइएको छ ।
यसबीच काठमाडौँ टेकुस्थित कौशी थिएटरमा बज्रकला कुञ्जले पनि नाटक मञ्चन गरेको थियो । सांस्कृतिक एवं पौराणिक नाटक 'महासत्त्व' पुस २५ देखि माघ ५ सम्म मञ्चन भएको थियो ।
