त्रिकोणात्मक प्रेमकथामा 'एक्टर’

माघ ५, २०८१

कान्तिपुर संवाददाता

'Actor' in triangular love story

काठमाडौँ — फिल्म ‘एक्टर’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । माघ १६ देखि प्रदर्शनमा आउन लागेको राजन भुसाल निर्देशित उक्त फिल्मको ट्रेलरले प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीबीचको त्रिकोणात्मक प्रेमकथा दर्शाएको छ ।

प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालाको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर पनि यिनैको वरिपरि केन्द्रित छ । यसअघि नै विभिन्न ‘लुक्स’ सार्वजनिक गरेर अभिनेता खड्काले फिल्ममा आफू विशिष्ट भूमिकामा रहेको छनक दिइसकेका थिए भने ट्रेलरले पनि उनी महत्त्वाकांक्षी चरित्रको भूमिकामा रहेको देखाउँछ ।

दिव्या यही फिल्मबाट पहिलो पटक फिल्मी दुनियाँमा प्रवेश गर्दै छिन् भने राजबल्लभ पनि नेपाली फिल्ममा लामो समयपछि फर्कन लागेका हुन् । उनी फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेको देखिन्छ । ‘एक्टर’ को ट्रेलरमा ‘लुट फेम्ड’ निश्चल बस्नेतसमेत देखिएका छन् । फिल्ममा दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको पनि अभिनय रहेको छ । 

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको ‘एक्टर’ को पटकथा निर्देशक भुसालले आकाश बरालसँग मिलेर लेखेका हुन् । थमनकुमार भण्डारीले निर्माण गरेको यस फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले संगीत रहेको फिल्मको द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully