काठमाडौँ — वरिष्ठ संगीतकार, गायक एवं संस्कृतिविद् बुलु मुकारुङलाई रेडियो कान्तिपुरले सम्मान गरेको छ । 'सलाम ज्यूँदो इतिहासलाई' शृङ्खलाको नयाँ अङ्कमा शनिबार आयोजित विशेष कार्यक्रममा मुकारुङलाई रेडियो कान्तिपुरले सम्मान गरेको हो ।
रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले मुकारुङजस्ता संगीतज्ञलाई सम्मान गर्न पाउँदा रेडियो आफैँमा गौरवान्वित भएको बताए । सम्मान ग्रहणपछि मुकारुङले नयाँ पुस्तालाई पुराना पुस्ताका बारेमा चिनाउने कार्यक्रम राखेको र अझ जीवित छँदै स्रष्टालाई सम्मान गर्ने परम्परा थालेकोमा रेडियो कान्तिपुरलाई धन्यवाद दिए । यस्तो सम्मानले सर्जकलाई सधैँ हौसला र ऊर्जा प्रदान गर्ने भन्दै उनले थप सक्रियताका साथ आफ्नो कर्मको निरन्तरतामा लागि रहने पनि प्रतिबद्धता जनाए ।
२०११ सालमा भोजपुरको बुलुम्पामा जन्मिएका मुकारुङले ५ सय भन्दा बढी गीतमा संगीत भरेका छन् । २०३४ सालमा रेडियो नेपालको स्वर परीक्षा दिएका उनले २०३८ बाट गीत रेकर्डिङ थालेका हुन् । फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, कुन्ती मोक्तान, तारा देवीदेखि पछिल्लो पुस्ताका विश्व नेपालीसम्मले उहाँको संगीतमा स्वर दिएका छन् ।
संगीत सिर्जनाबाहेक मुकारुङ कला र संस्कृतिको अन्वेषणमा पनि उत्तिकै सक्रिय छन् । उनले नेपाली संगीतको अभिलेख नामक पुस्तक १३ वर्ष लगाएर प्रकाशित गरे जहाँ ६ हजारभन्दा बढी सर्जकहरूका बारेमा जानकारी समेटिएको छ । त्यस्तै संगीत अनुशीलन र साइनो संस्कृति लगायत उनका चर्चित कृतिमा पर्छन् ।
मुकारुङले बदलिँदो आकाश र शान्तिदीप चलचित्रमा अभिनय समेत गरेका छन् । त्यस्तै रुपमति, भोक र भित्ताहरूजस्ता टेलिसिरियलमा पनि मुकारुङको अभिनय कैद छ ।
रेडियो कान्तिपुर र कान्तिपुर म्याक्स टिभीबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा युवा गायक राज सागर, भविन ढुङ्गाना, सरिता शाही र शोभा पाण्डेले मुकारुङका चर्चित गीतहरू इलामे सहर चियाबारी राम्रो, माया तिमीलाई के भन्न मन लाग्छ, मिर्मिरेमा तिमीलाई र जीवन देखि थाकेको मान्छे बोलको गीत प्रस्तुत गरेका थिए ।
रेडियो कान्तिपुरले यसअघि सलाम ज्यूँदो इतिहासलाई शृङ्खलामा यो वर्ष पप गायक सुनिल उप्रेती र संगीतकार सी.के रसाइलीलाई सम्मान गरिसकेको छ ।
