काठमाडौँ — यस वर्षकै ‘ब्लकबस्टर’ फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले अब ‘कोसेढुंगा’ बनाउने भएका छन् । आइतबार फिल्मको ‘थिम पोस्टर’ सहित पौडेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् ।
आगामी वर्ष प्रदर्शन गर्ने तयारीसहित ‘कोसेढुंगा’ को ‘प्रि–प्रोडक्सन’ मा जुटेको निर्माण पक्षले जनाएको छ । नरदेवी फिल्मस्को प्रस्तुति रहने उक्त फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माताका रूपमा रहेका छन् । बाबु श्रेष्ठको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहने भनिएको फिल्ममा संगीत रिदम कँडेल र आशिष अविरलको रहने जनाइएको छ ।
सामाजिक कथावस्तुमा आधारित रहने भनिएको यस फिल्मका कलाकार र चरित्रका बारेमा भने खुलाइएको छैन । ‘फिल्मको कथा, कलाकारका बारेमा हामी छिट्टै जानकारी दिनेछौं,’ निर्देशक पौडेलले भने, ‘मेरो निर्देशनको फिल्म ‘पूर्णबहादुरको सारंगी’ लाई जसरी दर्शकले मन पराइदिनुभयो, ‘कोसेढुंगा’ लाई पनि त्यही स्तरको बनाउन निर्देशकका तर्फबाट कुनै कसर बाँकी राख्ने छैन ।’
